काठमाडौँ– भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोपछि खोज, उद्धार र राहत अभियानमा नेपाल प्रहरीले ठूलो जनशक्ति परिचालन गरेको छ। बाढी प्रभावित क्षेत्रमा प्रहरीका ७ हजार २८३ जनशक्ति खटिएका छन् भने विपद्को क्रममा २५ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन्।
नेपाल प्रहरीले आइतबार बिहान ११ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार बाढी तथा पहिरो प्रभावित विभिन्न जिल्लाबाट हालसम्म ७३५ जनाको शव फेला परेको छ।
फेला परेका शवमध्ये चितवनमा सबैभन्दा धेरै २५९ जना छन्। नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३७ र रसुवामा १३ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
विपद्मा परेका तथा उद्धार गरिएका गरी २ हजार ७१५ जनालाई प्रहरीले उद्धार तथा सहायता प्रदान गरेको छ। रसुवाबाट ६९२, नुवाकोटबाट २ हजार २० र धादिङबाट तीन जनाको उद्धार गरिएको विवरणमा उल्लेख छ।
बाढी प्रभावित क्षेत्रमा प्रहरी जनशक्ति खोज तथा उद्धारसँगै सुरक्षा व्यवस्थापन र राहत वितरणमा समेत निरन्तर खटिएको छ। यस क्रममा आफैँ प्रहरी कर्मचारीहरू समेत जोखिममा परेका छन्।
यस्तै, काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको संख्या १६० पुगेको प्रहरीले जनाएको छ।