रसुवा र नुवाकोटमा सञ्चार सम्पर्क सहज बनाउन २० स्याटेलाइट फोन परिचालन - Chaitanya News
  • 2026-08-30
  • 13:40:07
  • आइतबार,भाद्र १४, २०८३
  • रसुवा र नुवाकोटमा सञ्चार सम्पर्क सहज बनाउन २० स्याटेलाइट फोन परिचालन

    रसुवा र नुवाकोटमा सञ्चार सम्पर्क सहज बनाउन २० स्याटेलाइट फोन परिचालन

    काठमाडौँ– रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यमा सञ्चार सम्पर्कलाई प्रभावकारी बनाउन २० थान स्याटेलाइट फोन उपलब्ध गराइएको छ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले विपद् प्रभावित क्षेत्रमा सूचना आदानप्रदान सहज बनाउने उद्देश्यले उक्त उपकरण उपलब्ध गराएको हो।

    प्राप्त स्याटेलाइट फोनमध्ये १० थान रसुवामा र बाँकी १० थान नुवाकोटमा प्रयोग हुने गरी पठाइएको छ। नियमित दूरसञ्चार पूर्वाधारमा क्षति पुगेको अवस्थामा समेत सम्पर्क कायम राख्न सकिने भएकाले उद्धार तथा राहतसँग सम्बन्धित निकायलाई यी उपकरणले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

    बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत व्यवस्थापनका गतिविधि सञ्चालन भइरहेका बेला सञ्चार सम्पर्कलाई निरन्तरता दिन स्याटेलाइट फोनको व्यवस्था गरिएको हो। यसबाट घटनास्थलबाट आवश्यक सूचना सम्बन्धित निकायसम्म पुर्‍याउन तथा उद्धार र राहत कार्यबीच समन्वय गर्न सहज हुने प्राधिकरणले जनाएको छ।