सुरुङ उद्धारमा चीनको साथ, ५० टन राहत सामग्रीसहित चार विज्ञ काठमाडौंमा - Chaitanya News
  • 2026-10-17
  • 00:02:47
  • शुक्रबार,आश्विन ३०, २०८३
  • सुरुङ उद्धारमा चीनको साथ, ५० टन राहत सामग्रीसहित चार विज्ञ काठमाडौंमा

    सुरुङ उद्धारमा चीनको साथ, ५० टन राहत सामग्रीसहित चार विज्ञ काठमाडौंमा

    काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढीपछि कठिन तथा जोखिमपूर्ण क्षेत्रमा खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन चीनले नेपालमा सुरुङ उद्धारसम्बन्धी विज्ञ टोली र अत्यावश्यक सामग्री पठाएको छ।

    चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई–२० सैन्य परिवहन विमान ५० टन आपत्कालीन राहत सामग्री, उद्धार उपकरण र चार जना सुरुङ उद्धार विज्ञसहित आइतबार बिहान करिब ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

    चीनको छेङ्दु श्वाङ्लिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका ती विमान करिब तीन घण्टापछि काठमाडौं आइपुगेका थिए। बाढी र लेदोका कारण सुरुङ तथा अन्य कठिन क्षेत्रमा उद्धार चुनौतीपूर्ण बनिरहेका बेला चिनियाँ विज्ञ टोली नेपाल आएको हो।

    चीनले पठाएको राहत सामग्रीमा टेन्ट, कम्बल, स्लिपिङ ब्याग, तयारी खाद्य सामग्री र प्राथमिक उपचार किटलगायत १३ हजार २०० सामग्री छन्। ती सामग्रीको कुल तौल ५० टन रहेको जनाइएको छ।

    विमानस्थलमा आयोजित राहत सामग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र प्रतिनिधिसभा सदस्य धर्म केसी सहभागी थिए। सो अवसरमा चिनियाँ उद्धार विज्ञ टोलीको स्वागतसमेत गरिएको थियो।

    भोटेकोशी–त्रिशूली बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत कार्य जारी छ। बाढीले सिर्जना गरेको लेदो, क्षतिग्रस्त संरचना र कठिन भौगोलिक अवस्थाका कारण उद्धारमा चुनौती थपिएका बेला चीनबाट आएको विज्ञ टोली र उपकरणले विशेषगरी सुरुङ तथा जोखिमपूर्ण संरचनामा उद्धार कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।