‘बाढी प्रभावितका लागि स्रोतको कमी हुन दिँदैनौँ’ : अर्थमन्त्री वाग्ले - Chaitanya News
  • 2026-08-30
  • 09:00:26
  • आइतबार,भाद्र १४, २०८३
  • ‘बाढी प्रभावितका लागि स्रोतको कमी हुन दिँदैनौँ’ : अर्थमन्त्री वाग्ले

    ‘बाढी प्रभावितका लागि स्रोतको कमी हुन दिँदैनौँ’ : अर्थमन्त्री वाग्ले

    नुवाकोट– भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले उद्धारसँगै शव व्यवस्थापन, राहत वितरण र अवरुद्ध सडक तथा सम्पर्क पुनःस्थापनालाई प्राथमिकतामा राखेको छ।

    नुवाकोट सदरमुकाममा जिल्ला समन्वय समितिले शनिबार आयोजना गरेको सर्वपक्षीय छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता जनाए।

    उनले वास्तविक पीडितसम्म राहत सामग्री न्यायोचित ढङ्गले पुर्‍याउन तीनै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। उनका अनुसार अहिले सरकारको मुख्य ध्यान उद्धार, राहत सामग्री वितरण र शव व्यवस्थापनमा केन्द्रित छ।

    अर्थमन्त्री वाग्लेले बाढीका कारण सम्पर्क विच्छेद भएका प्रमुख दुई–तीन स्थानमा तत्काल बेलिब्रिज राख्ने तयारी भइरहेको जानकारी दिए। प्रभावित क्षेत्रको अवस्था हेरेर आवश्यक स्थानमा बेलिब्रिज जडान गरी आवागमन सहज बनाउने सरकारको तयारी छ।

    छलफलमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भोटेकोशीमा आएको बाढी अनुमानभन्दा निकै शक्तिशाली भएकाले राज्यको सम्पूर्ण शक्ति प्रभावित क्षेत्रमा केन्द्रित गरिएको बताए।

    उनले तीनै तहका सरकारले स्वतःस्फूर्त रूपमा उद्धार तथा राहतका काम गरिरहेको जानकारी दिँदै हिजोसम्म उद्धारलाई प्राथमिकता दिइएकामा अब शव संकलन र व्यवस्थापनमा विशेष जोड दिइएको बताए।

    मन्त्री तिमिल्सिनाका अनुसार सरकारसँग अहिले सात वटा बेलिब्रिज छन्। प्रभावित क्षेत्रको सम्भाव्यता अध्ययन गरी छिटोभन्दा छिटो आवश्यक स्थानमा बेलिब्रिज जडान गर्ने पहल भइरहेको उनले बताए।

    शव व्यवस्थापनमा ढिलाइ गर्न नहुने भन्दै उनले विपद्को चोट सम्पूर्ण सरकारमाथि परेको बताए। “यसका लागि सरकारले सकेको सबै थोक गर्छ,” उनले भने।

    छलफलमा राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद अधिकारीले अब राहत सामग्री वितरणलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरे। बागमती प्रदेशसभा सदस्य राधिका तामाङले प्रदेश सरकार पनि उद्धार, राहत र पुनःस्थापनामा सक्रिय रहेको बताउँदै अझै केही स्थानमा खोजी तथा उद्धारको आवश्यकता रहेको औँल्याइन्।