पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको जहाज १५ वर्षअघि उत्पादन गरेको थियो एटीआरले - Chaitanya News
  • 2026-10-20
  • 18:54:31
  • मंगलबार,कार्तिक ०४, २०८३
  • पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको जहाज १५ वर्षअघि उत्पादन गरेको थियो एटीआरले

    पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको जहाज १५ वर्षअघि उत्पादन गरेको थियो एटीआरले

    काठमाडौं– पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको जहाज १५ वर्षअघि उत्पादन भएको पाइएको छ। यो एटीआर कम्पनीले उत्पादन गरेको सिरियल नम्बर–७५४ को जहाज हो।

    ७२२१२ ए प्रकारको यो जहाजले पहिलो उडान सन् २००७ अगस्ट १ तारिखमा गरेको थियो। यतीले नोक एयरलाइन्सबाट यो एटीआर किनेको हो। थाइल्याण्डको नोक एयरले यो एटीआर किङफिसरलाई बेचेको थियो।

    भारतको किङफिसर एयरलाइन्सले प्रयोग गरेको यो जहाज सन् २०१३ बाट नोक एयरले प्रयोग गरेको थियो। यतीले यो जहाज सन् २०१९ मार्च २६ तारिखमा किनेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले प्राविधिक कारणले जहाज दुर्घटना भएको हुनसक्ने अनुमान गरेका छन्।

    ‘मौसमको समस्या थिएन, विमानको प्राविधिक कारणले दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ’, उनले रासससँग भनेका छन्, ‘विमानमा आकाशमै आगोको झिल्को देखिएको जानकारी प्राप्त भएको छ।’

    आइतबार काठमाडौं–पोखरा उडान गर्ने क्रममा ६८ जना यात्रु र चारजना चालक दल सवार जहाज दुर्घटना भएको हो। जहाज दुर्घटना भएलगत्तै काठमाडौंबाट प्राविधिक टोली पोखरा हिडिसकेको प्राधिकरणले जनाएको छ। ९ एन–एएनसी कलसाइनको जहाज बिहान १०।३३ बजे काठमाडौबाट पोखरा उडान गरेको थियो।