जनताले तिरेको करबाट सुविधा लिइएका कसैलाई पनि कमजोरीको छुट छैन : उपप्रधानमन्त्री श्रेष्ठ - Chaitanya News
  • 2026-05-10
  • 21:06:10
  • आइतबार,बैशाख २७, २०८३
  • जनताले तिरेको करबाट सुविधा लिइएका कसैलाई पनि कमजोरीको छुट छैन : उपप्रधानमन्त्री श्रेष्ठ

    जनताले तिरेको करबाट सुविधा लिइएका कसैलाई पनि कमजोरीको छुट छैन : उपप्रधानमन्त्री श्रेष्ठ

    काठमाडौं– उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले जनताले तिरेको करबाट सुविधा लिइएका कसैलाई पनि कमजोरी गर्न छुट नहुने स्पष्ट पारेका छन्।

    शुक्रबार काठमाडौं उपत्यकाका विभिन्न सडकको स्थलगत निरीक्षण गर्दै मन्त्री श्रेष्ठले आफूले सकारात्मक हस्तक्षेप गर्दै सुधारमा लाग्ने भन्दै जनताले तिरेको करबाट सुविधा लिइएका कसैलाई पनि कमजोरी गर्न छुट नहुने स्पष्ट पारे।

    खाल्डाखुल्डी भएका ठाउँमा तत्काल मर्मत गरिने र अन्य समस्याका कारण मर्मत गर्न नसकिने ठाउँमा सम्बन्धित निकायसँग समन्वयमा मर्मत गरिने भएकाले केही समय लाग्ने हुँदा धैर्य गर्न जनतालाई उनले आग्रह गरे।

    नागरिकले अहिले विकास निर्माणको अनुभूति गर्न नपाएको भन्दै उनले जनतालाई अप्ठेरो भएकाले तमासा हेरेर बस्ने अवस्था नरहेको पनि बताए। मन्त्री श्रेष्ठले खानेपानी, ढल तथा भूमिगत विद्युतीकरणको काम सकिए उपत्यकाको सडक राम्रो अवस्थाको हुने उल्लेख गरे।

    अनुगमनका क्रममा मन्त्री श्रेष्ठले सडकको अवस्थाका बारेमा सम्बन्धित निकायका अधिकारीसँग सोधपुछ गरे। सडक अनुगमनमा उपप्रधानमन्त्री श्रेष्ठसँगै भौतिक पूर्वाधार सचिव गोपाल सिग्देल, सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापालगायत सरोकारवाला निकायका अधिकारीहरुको सहभागिता रहेको थियो।