काठमाडौँ– साउनको अन्तिम सोमबार बिहानैदेखि परेको झरीको पर्वाह नगरी पशुपतिनाथ मन्दिरमा शिवभक्तको बाक्लो उपस्थिति देखिएको छ । बिहानैदेखि लामबद्ध भएका श्रद्धालु भक्तजनले पशुपतिनाथको दर्शन तथा विशेष पूजा गरिरहेका छन् ।
दर्शनार्थीको चापलाई ध्यानमा राख्दै पशुपति क्षेत्र विकास कोषले बिहान ३ बजेदेखि नै मन्दिरका चारवटै ढोका खुला गरेको छ । गौशाला, जयवागीश्वरी, मित्र उद्यान, चाबहिल, मैजुबहाल, चुच्चेपाटी, कुमारीगाल, वाग्मती करिडोर, गुह्येश्वरी, मृगस्थली, गौरीनगर र पिंगलास्थानलगायत क्षेत्रबाट भक्तजन पशुपतिनाथतर्फ जाने क्रम जारी छ ।
गौरी नगरसम्म भक्तजनको लाम पुगेको छ । यद्यपि लाममा बसेका दर्शनार्थीले धेरै समय कुर्नुपर्ने अवस्था नरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । चारैतिरबाट मन्दिर प्रवेशका लागि छुट्टाछुट्टै लामको व्यवस्था गरिएको छ ।
साउनको अन्तिम सोमबार भएकाले सुन्दरीजलबाट जल ल्याएर पशुपतिनाथमा चढाउने भक्तजनको पनि उल्लेख्य उपस्थिति छ । झरी परिरहेको अवस्थामा समेत भक्तजनको उत्साहमा कमी आएको छैन ।
दर्शनार्थीको सहज र सुरक्षित व्यवस्थापनका लागि पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा कर्मचारीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी तथा विभिन्न धार्मिक र सामाजिक संघ–संस्थाका प्रतिनिधि परिचालन भएका छन् ।
सवारी आवागमन व्यवस्थापनका लागि गौशाला, जयवागीश्वरी, सिफल, मित्र उद्यान, चाबहिल र गौरी नगर क्षेत्रमा ट्राफिक प्रहरीको बाक्लो उपस्थिति छ । पशुपति क्षेत्रमा दर्शनार्थीलाई लक्षित गरी प्राथमिक उपचारसहितका स्वास्थ्य सेवा पनि उपलब्ध गराइएको छ । विभिन्न संघ–संस्थाले निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरेका छन् ।
बिहान ३ बजेदेखि खुलेका मन्दिरका चारवटै ढोका बेलुकाको आरतीपछि राति ८ बजेसम्म खुला रहनेछन् । विशेष पूजा भने बिहान ८ः३० बजेदेखि मध्याह्न १२ बजेसम्म मात्र सञ्चालन हुने जनाइएको छ ।
साउनको अन्तिम सोमबारको अवसरमा काठमाडौँ उपत्यकाका अन्य प्रमुख शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर तथा वसन्तपुर दरबार क्षेत्रको ‘सानो पशुपतिनाथ’का रूपमा चिनिने मक्खन महादेवलगायत शिव मन्दिरमा पनि श्रद्धालुको उल्लेख्य उपस्थिति रहेको छ ।