आज विश्व आदिवासी दिवस: पहिचान, संस्कृति र अधिकार संरक्षणको आवाज - Chaitanya News
  • 2026-08-09
  • 09:41:27
  • आइतबार,साउन २४, २०८३
  • आज विश्व आदिवासी दिवस: पहिचान, संस्कृति र अधिकार संरक्षणको आवाज

    आज विश्व आदिवासी दिवस: पहिचान, संस्कृति र अधिकार संरक्षणको आवाज

    काठमाडौँ– विश्वभरका आदिवासी जनजातिको पहिचान, संस्कृति, भाषा, परम्परा र अधिकार संरक्षणको विषयलाई प्राथमिकतामा राख्दै आज विश्व आदिवासी दिवस मनाइँदै छ। दिवसले आदिवासी समुदायले पुस्तौँदेखि जोगाउँदै आएका मौलिक संस्कृति, परम्परागत ज्ञान र प्राकृतिक स्रोतसँगको सम्बन्धको संरक्षणसँगै उनीहरूको अधिकार सुनिश्चित गर्नुपर्ने आवश्यकतालाई स्मरण गराउँछ।

    संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९४ डिसेम्बर २३ मा हरेक वर्ष अगस्ट ९ लाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। सन् १९८२ अगस्ट ९ मा जेनेभामा संयुक्त राष्ट्रसंघको आदिवासी जनसङ्ख्यासम्बन्धी कार्य समूहको पहिलो बैठक बसेकाले यही दिनलाई दिवसका रूपमा चयन गरिएको हो।

    संयुक्त राष्ट्रसंघका अनुसार विश्वका ९० देशमा करिब ४७ करोड ६० लाख आदिवासी जनजातिको बसोबास छ। विश्व जनसङ्ख्याको छ प्रतिशतभन्दा कम हिस्सा ओगट्ने भए पनि विश्वका सबैभन्दा गरिबमध्ये कम्तीमा १५ प्रतिशत आदिवासी समुदाय छन्। विश्वमा बोलिने करिब सात हजार भाषामध्ये ठूलो हिस्सा आदिवासी समुदायले बोल्छन् भने उनीहरूले करिब पाँच हजार फरक संस्कृति प्रतिनिधित्व गर्छन्।

    आदिवासी जनजाति समुदायले आफ्नो विशिष्ट सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनीतिक पहिचानलाई पुस्तौँदेखि निरन्तरता दिँदै आएका छन्। मानिस र प्रकृतिबीचको सम्बन्ध, परम्परागत ज्ञान, स्थानीय स्रोतको उपयोग तथा संरक्षणसम्बन्धी उनीहरूको अभ्यासलाई महत्वपूर्ण सांस्कृतिक सम्पदाका रूपमा लिइन्छ।

    तर पहिचान, परम्परागत जीवनपद्धति, पुर्ख्यौली भूमि, क्षेत्र तथा प्राकृतिक स्रोतसाधनमाथिको अधिकारका विषयमा आदिवासी समुदायले लामो समयदेखि चुनौती सामना गर्दै आएका छन्। इतिहासका विभिन्न चरणमा अधिकार उल्लंघन हुँदै आएको र अहिले पनि उनीहरू विश्वका पछाडि पारिएका तथा जोखिममा रहेका समुदायमध्ये रहेको संयुक्त राष्ट्रसंघले उल्लेख गरेको छ।

    यसै कारण आदिवासी जनजातिको अधिकार संरक्षणलाई केवल सांस्कृतिक विषयका रूपमा नभई मानवअधिकार, सामाजिक न्याय र समान सहभागितासँग जोडेर हेर्नुपर्ने आवाज उठ्दै आएको छ। उनीहरूको भाषा, संस्कृति र परम्पराको संरक्षणसँगै नीति निर्माण तथा राज्यका निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्छ।

    विश्व आदिवासी दिवसले आदिवासी जनजातिको मौलिक पहिचान र योगदानलाई सम्मान गर्ने अवसरसँगै उनीहरूले भोगिरहेका विभेद, असमानता र अधिकारसम्बन्धी चुनौतीबारे बहस गर्ने अवसरसमेत प्रदान गर्छ। दिवसका अवसरमा आदिवासी जनजातिको अधिकार, संस्कृति, भाषा, परम्परागत ज्ञान तथा प्राकृतिक स्रोतसँगको सम्बन्ध जोगाउँदै उनीहरूको सम्मानजनक र समान सहभागिता सुनिश्चित गर्न सरकार, नागरिक समाज तथा अन्तर्राष्ट्रिय समुदायलाई प्रतिबद्ध हुन आह्वान गरिएको छ।