कांग्रेसले खोज्यो माओवादीको साथ ! - Chaitanya News
  • 2026-05-10
  • 19:57:51
  • आइतबार,बैशाख २७, २०८३
  • कांग्रेसले खोज्यो माओवादीको साथ !

    कांग्रेसले खोज्यो माओवादीको साथ !

    काठमाडौं- पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार नहुँदा संघदेखि प्रदेशसम्मै सत्ता बाहिर पुगेको नेपाली कांग्रेसले संघीय सभामुख र उपसभामुख, राष्ट्रपति र उपराष्ट्रपतिमा माओवादी केन्द्रको साथ खोजेको छ । प्रदेशमा पनि सभामुखहरुमा साथ खोजेको कांग्रेसले औपचारिक रूपमै माओवादी केन्द्रसँग संवाद गर्ने निर्णय गरेको छ ।

    प्रतिनिधिसभाको सभामुखको निर्वाचन माघ ५ र उपसभामुखको निर्वाचन माघ ७ गते हुँदै छ । सभामुखको निर्वाचन तालिका माघ ३ गते सार्वजनिक हुँदैछ । सभामुख र उपसभामुखको निर्वाचनसहितको विषयमा छलफल गर्न बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका पूर्व र वर्तमानपदाधिकारीहरुको बैठक राखेका थिए । जहाँ राष्ट्रपति र उपराष्ट्रपतिको विषयमा समेत छलफल भएको नेताहरु बताउँछन् । अवस्था अनुसार प्रदेश सभामा पनि सभामुख लिने गरी वातावरण बनाउने गरी भूमिका खेल्न सभापति देउवालाई नै पूर्व र वर्तमान पदाधिकारीहरूले अधिकार दिएका छन् ।

    कांग्रेसका पदाधिकारीहरूका अनुसार प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले माओवादीको साथ खोज्ने नीति लिने तय गरेको छ । सहमहामन्त्री बद्री पाण्डे सभामुख र उपसभामुख निर्वाचनमा दलहरूबीच छलफल गर्नेबारे पदाधिकारीबीचमा अनौपचारिक छलफल भएको बताउँछन् । बैठकपछि उनले पत्रकारहरूसँग भने, ‘सभामुख र उपसभामुखको निर्वाचनमा हामी एक्लैले जित्ने अवस्था छैन । त्यसैले ती पदमा हामीले जित्ने अवस्था बनाउन अन्य दलसँग सहकार्य गर्नु आवश्यक हुन्छ । हामी सत्ता पक्ष र विपक्षमा रहेका दलहरूसँग पनि छलफल गरेरमात्रै निर्णयमा पुग्छौँ ।’

    पाँच दलीय गठबन्धनको साहारामा स्थानीय तहदेखि केन्द्रसम्मै पहिलो पार्टी बनेको नेपाली कांग्रेस संघदेखि सातै प्रदेशसम्म सत्ता बाहिर रहन पुगे पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो । शक्ति बाँडफाँडमा असहमति जनाएपछि माओवादी केन्द्रले एमाले लगायतका दलसँग मिलेर संघीय सरकार बनाएपनि कांग्रेसले फेरि माओवादी केन्द्रकै साथ खोज्ने नीति लिएको हो ।

    यही नीति अनुसार नेपाली कांग्रेसले बागमती प्रदेशमा पनि सभामुखका लागि लबिङ गरिरहेको छ । बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा संघीय अभ्यास अनुसार प्रदेशमा पनि सरकारलाई समर्थन दिन तयार रहेको बताउँछन् । तर, यसका लागि सभामुख आफूहरुलाई दिनुपर्ने उनको माग छ । माओवादी केन्द्रको साथ पाउने आशमा कांग्रेसका शिवराज अधिकारीले उम्मेदवारी दर्ता गरेका छन् । तर, सत्ता साझेदार दलबाट राप्रपाका भुवन पाठकको उम्मेदवारी परेको छ । नेमकिपाकी सृजना सायजुले पनि सभामुखका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

    कांग्रेस नेताहरु प्रदेश सभामुखको विषयमा सुविधा अनुसार हुने बताउँछन् । संघमा सभामुखमा सहयोग नगरे पनि राष्ट्रपति निर्वाचनका लागि माओवादी केन्द्रसँग सहकार्यको वातावरण बनाउन चाहेको नेताहरुले बताएका छन् ।

    कांग्रेसका वरिष्ठ नेता शेखर कोइराला राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई विचार गरेर प्रधानमन्त्री प्रचण्डलाई आफूहरूले विश्वासको मत दिएको बताउँछन् । बिहीबार विराटनगरमा पत्रकारहरूसँग उनले भने, सभामुख, उपसभामुखको निर्वाचनबाहेकका निर्वाचनमा पनि हामी उम्मेदवारी दिन्छौं ।

    राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनमा देशभरका सांसदले भोट हाल्नुहुन्छ । यो सबैलाई विचार गरेर हामीले सरकारलाई विश्वासको मत दिएका हौं ।’ संवैधानिक निकायमा शक्ति बाँडफाँटको विषयमा भने माओवादी केन्द्रसँग कुनै कुरा नभएको उनले प्रष्टीकरण दिए ।