काठमाडौँ– गुल्मीको मदाने गाउँपालिकाले संघ तथा प्रदेश लोक सेवा आयोगको वैकल्पिक सूचीमा रहेका उम्मेदवारलाई करार सेवामा नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ।
गाउँपालिकाले जारी गरेको सूचनाअनुसार विभिन्न रिक्त पदमा करार नियुक्तिका लागि वैकल्पिक सूचीमा रहेका योग्य उम्मेदवारबाट आवेदन आह्वान गरिएको हो। गाउँ कार्यपालिकाको २०८३ साउन ४ गतेको निर्णयका आधारमा प्रकाशित सूचनामा सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनुपर्ने उल्लेख गरिएको छ।
करारमा नियुक्त गरिने पदमध्ये प्रशासन सेवातर्फ सहायक पाँचौँ तहमा २ जना र सहायक चौथो तहमा २ जना आवश्यक छन्। त्यसैगरी नेपाल इन्जिनियरिङ सेवा (सिभिल) अन्तर्गत सब–इन्जिनियर पाँचौँ तहमा १ जना तथा असिस्टेन्ट सब–इन्जिनियर चौथो तहमा २ जना माग गरिएको छ।
यस्तै नेपाल विविध सेवाअन्तर्गत महिला विकास निरीक्षक (सहायक पाँचौँ तह) मा १ जना र नेपाल कृषि सेवाअन्तर्गत सहायक पाँचौँ तहमा १ जना कर्मचारी करार सेवामा नियुक्त गरिने जनाइएको छ।
गाउँपालिकाले सम्बन्धित पदको वैकल्पिक सूचीमा रहेका उम्मेदवारलाई आवश्यक कागजातसहित तोकिएको समयभित्र आवेदन पेस गर्न आग्रह गरेको छ।