होल्डिङ सेन्टरका २९ सुकुम्वासी परिवारलाई गृहजिल्लामै जग्गा उपलब्ध गराउने प्रक्रिया सुरु - Chaitanya News
  • 2026-07-22
  • 17:44:11
  • बुधबार,साउन ०६, २०८३
  • होल्डिङ सेन्टरका २९ सुकुम्वासी परिवारलाई गृहजिल्लामै जग्गा उपलब्ध गराउने प्रक्रिया सुरु

    होल्डिङ सेन्टरका २९ सुकुम्वासी परिवारलाई गृहजिल्लामै जग्गा उपलब्ध गराउने प्रक्रिया सुरु

    काठमाडौँ– काठमाडौँ उपत्यकाका नदी किनारबाट हटाइएपछि विभिन्न होल्डिङ सेन्टरमा बस्दै आएका २९ सुकुम्वासी परिवारलाई अब उनीहरूको गृहजिल्लामै जग्गा व्यवस्थापन गर्ने प्रक्रिया सुरु गरिएको छ।

    भूमि समस्या समाधान समितिले सार्वजनिक सूचना जारी गर्दै अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले तयार पारेको डिजिटल विवरणका आधारमा पहिचान भएका परिवारलाई सम्बन्धित जिल्ला समिति र स्थानीय तहसँग समन्वय गर्न आग्रह गरेको हो।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार ती परिवारको नाममा देशभर अन्यत्र घरजग्गा भए–नभएको विषयमा भूमि व्यवस्थापन तथा अभिलेख विभागमार्फत अध्ययन गरिएको थियो। विभागको प्रतिवेदनमा कुनै पनि परिवारको नाममा जग्गा नभेटिएपछि उनीहरूको स्थायी बसोबास रहेको जिल्लामै जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको समितिले जनाएको छ।

    समितिका अनुसार आवश्यक डिजिटल विवरण, निवेदन र अन्य कागजात सम्बन्धित जिल्ला समितिमा पठाइसकिएको छ। अब सम्बन्धित जिल्लाले आवश्यक प्रक्रिया पूरा गरी जग्गा व्यवस्थापनको काम अघि बढाउनेछ।

    हाल ती परिवार बनेपास्थित रेडक्रस तालिम केन्द्र, कीर्तिपुरस्थित राधास्वामी सत्संग, नगरकोटस्थित खानेपानी तालिम केन्द्र र बोडेस्थित कृषि तालिम केन्द्रमा रहेका छन्। उनीहरू सिन्धुली, सर्लाही, काठमाडौँ, सुनसरी, धनकुटा, मोरङ, सिन्धुपाल्चोक, महोत्तरी, झापा, भोजपुरलगायत विभिन्न जिल्लाका स्थायी बासिन्दा हुन्।