साउने सङ्क्रान्तिसँगै दक्षिणायन सुरु, स्नान–दान र शिव आराधनामा देशभर श्रद्धालु - Chaitanya News
  • 2026-07-17
  • 10:21:10
  • शुक्रबार,साउन ०१, २०८३
  • साउने सङ्क्रान्तिसँगै दक्षिणायन सुरु, स्नान–दान र शिव आराधनामा देशभर श्रद्धालु

    साउने सङ्क्रान्तिसँगै दक्षिणायन सुरु, स्नान–दान र शिव आराधनामा देशभर श्रद्धालु

    काठमाडौँ– आज साउन १ गते अर्थात् साउने (कर्कट) सङ्क्रान्ति पर्व देशभर स्नान, दान र धार्मिक आस्थाका साथ मनाइँदैछ। आजदेखि सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्दै दक्षिणायन सुरु भएको मानिन्छ।

    वैदिक सनातन परम्पराअनुसार साउने सङ्क्रान्तिको विशेष धार्मिक महत्व छ। यस दिन नदी, तालतलैया तथा तीर्थस्थलमा स्नान गरी दान–पुण्य गर्ने चलन रहेको छ। माघ १ गते सुरु हुने उत्तरायणपछि साउन १ गतेदेखि दक्षिणायन प्रारम्भ हुने विश्वास गरिन्छ।

    कृषिप्रधान नेपाली समाजमा असारभर खेतबारीमा व्यस्त भएपछि साउने सङ्क्रान्तिका अवसरमा ‘लुतो फाल्ने’ परम्परा पनि मनाइन्छ। छालासम्बन्धी रोगबाट जोगिने सांस्कृतिक विश्वाससँग जोडिएको यस परम्परामा कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा र नासपातीजस्ता औषधीय गुण भएका वनस्पति प्रयोग गरी अगुल्टो फाल्ने चलन छ। यस क्रममा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने र ढोका बन्द गर्ने प्रचलन पनि कायम छ।

    यही दिनदेखि सुरु हुने साउन महिनालाई भगवान् शिवको विशेष आराधनाको महिना मानिन्छ। पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गर्दछ। महिलाले हरियो चुरा, हरियो वस्त्र र मेहन्दी लगाएर साउनको स्वागत गर्ने परम्पराले पनि यस पर्वलाई थप विशेष बनाएको छ।