काठमाडौं– वाणिज्य बैंकहरूमा निक्षेपको ब्याजदर घट्ने क्रम साउन महिनामा पनि निरन्तर रहेको छ। साउन २०८३ का लागि सार्वजनिक गरिएको नयाँ ब्याजदरअनुसार २० वाणिज्य बैंकमध्ये ८ बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने १२ बैंकले अघिल्लो महिनाकै दरलाई यथावत् राखेका छन्।
सबैभन्दा ठूलो कटौती राष्ट्रिय वाणिज्य बैंकले गरेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ०.७५ प्रतिशत र संस्थागत मुद्दतीमा १ प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ।
त्यस्तै, ग्लोबल आइएमई बैंकले व्यक्तिगततर्फ ०.५ प्रतिशत र संस्थागततर्फ ०.२५ प्रतिशत, एनएमबि बैंकले व्यक्तिगततर्फ ०.२५ प्रतिशत र संस्थागततर्फ ०.५ प्रतिशत तथा सिटिजन्स बैंक इन्टरनेसनलले व्यक्तिगततर्फ ०.१५ प्रतिशत र संस्थागततर्फ ०.५ प्रतिशत बिन्दुले ब्याजदर घटाएका छन्।
कृषि विकास बैंकले संस्थागत मुद्दती निक्षेपमा ०.०३ प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ भने कुमारी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर क्रमशः ०.०६ प्रतिशत र ०.१० प्रतिशत बिन्दुले कम गरेका छन्।
यद्यपि, नबिल, प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा, सानिमा, माछापुच्छ्रे, नेपाल एसबिआई, एभरेष्ट, सिद्धार्थ, हिमालयन, लक्ष्मी सनराइज, एनआइसी एसिया र प्राइम कमर्सियलसहित १२ बैंकले भने असारकै ब्याजदरलाई साउनमा पनि निरन्तरता दिएका छन्।
यसबीच नेपाल बैंक लिमिटेडले भने संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ३ प्रतिशतबाट बढाएर ४ प्रतिशत पुर्याएको छ। चार वर्ष वा सोभन्दा बढी अवधिको संस्थागत मुद्दती निक्षेपमा उक्त दर लागू हुनेछ। व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर भने ४.२५ प्रतिशतमै यथावत् राखिएको छ।
साउनका लागि सार्वजनिक दरअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा धेरै ४.५५ प्रतिशत ब्याजदर नबिल बैंक र प्रभु बैंकले उपलब्ध गराउनेछन्। सबैभन्दा कम ३.८५ प्रतिशत ब्याजदर भने कुमारी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले तोकेका छन्।
संस्थागत मुद्दती निक्षेपमा नेपाल बैंकले सबैभन्दा बढी ४ प्रतिशत ब्याज दिने भएको छ। प्रभु, कृषि विकास, नेपाल एसबिआई, प्राइम कमर्सियल, ग्लोबल आइएमई र स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने अधिकतम २.७५ प्रतिशत ब्याजदर मात्र उपलब्ध गराउनेछन्।
![]()