एमालेका चार मन्त्री हटाउँदै मुख्यमन्त्री शाहले बदले सत्ता समीकरण - Chaitanya News
  • 2026-07-15
  • 15:43:40
  • बुधबार,आषाढ ३१, २०८३
  • एमालेका चार मन्त्री हटाउँदै मुख्यमन्त्री शाहले बदले सत्ता समीकरण

    एमालेका चार मन्त्री हटाउँदै मुख्यमन्त्री शाहले बदले सत्ता समीकरण

    काठमाडौँ– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा (एमाले) को तर्फबाट सरकारमा सहभागी चार मन्त्रीलाई पदमुक्त गर्दै प्रदेश सरकारको सत्ता समीकरणमा नयाँ मोड ल्याएका छन्।

    मुख्यमन्त्री शाहले केही दिनअघि एमालेलाई सरकारमा रहने वा बाहिरिने विषयमा स्पष्ट निर्णय दिन आग्रह गरेका थिए। त्यसलगत्तै एमाले आन्तरिक छलफलमा केन्द्रित भएको थियो भने मुख्यमन्त्री शाहले पनि नयाँ राजनीतिक समीकरणबारे परामर्शलाई तीव्रता दिएका थिए।

    एमालेबाट सरकारलाई निरन्तर समर्थन नहुने संकेत देखिएपछि मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरूलाई सरकारबाट हटाउने निर्णय गरेका हुन्।

    पदमुक्त हुनेमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की, भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मलादेवी साउँद रहेका छन्।

    मुख्यमन्त्रीको यस निर्णयसँगै सुदूरपश्चिम प्रदेश सरकारमा नयाँ सत्ता समीकरण बन्ने सम्भावना बढेको छ भने आगामी मन्त्रिपरिषद् पुनर्गठन र राजनीतिक समीकरणप्रति चासो समेत बढेको छ।