काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुलभ खरेलले जेनजी अगुवा माजिद अन्सारी पक्राउ प्रकरणमा प्रहरीले अत्यधिक बल प्रयोग गरेको भन्दै त्यसको कडा आलोचना गरेका छन्।
हिजो (सोमबार) संसद्को कानुन समितिको बैठकमा बोल्दै सांसद खरेलले अन्सारीमाथि भएको कुटपिट र ज्यादतीबारे सरकारको ध्यानाकर्षण गराउँदै औपचारिक रूपमा माफी माग्न नेपाल प्रहरीसँग माग गरेका हुन्।
कानुन समितिको बैठकमा सांसद खरेलले अन्सारीलाई पक्राउ मात्र नगरी मुक्का हानिएको, लुछिएको र अत्यधिक बल प्रयोग गरिएको बताए । अन्सारीको उपचार र क्षतिपूर्तिको जिम्मा कसले लिने भन्दै उनले सरकारलाई प्रश्नसमेत गरेका छन्।
‘प्रहरीले भ्यानभित्र लगेर पनि मान्छेहरूलाई कुट्दो रहेछ। हामी यस्तो खालको व्यवस्थामा बस्न खोजिरहेका छौँ ?’ खरेलले भने, ‘समाजमा फरक मत सबैले राख्छन्। फरक मत राख्दैमा कसैप्रति पनि उग्र भावले प्रस्तुत नहुन म नेपाल प्रहरीलाई आग्रह गर्दछु।’
सांसद खरेलले प्रहरीको बोली र व्यवहारमा तत्कालीन सत्ता र गृहमन्त्रीको अनुहार देखिने गरेको टिप्पणी गरे। विगतमा रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्दा एक प्रहरीले ‘तपाईंको अन्तिम इच्छा के हो ?’ भनी सोधेको प्रसङ्ग कोट्याउँदै उनले त्यसबेला आफूले प्रहरीको नभई तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीको अनुहार देखेको बताए।
अहिले पनि आन्दोलनकारीलाई प्रहरीले गर्ने दमनमा जनताले वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीको अनुहार देख्ने भन्दै उनले सरकारलाई संयमित हुन र मानवअधिकारको सम्मान गर्न चेतावनी दिए।
रास्वपा सांसदहरू मनिष झा र अफसाना बानोसहित आफू अन्सारीलाई भेट्न पुगेको तर अन्सारी अझै पनि हिरासतमा रहेको या नरहेको विषयमा अन्योल देखिएको खरेलले बताए। वर्तमान सरकारलाई असफल हुने कुनै छुट नभएको बताउँदै उनले असन्तुष्ट र फरक मत राख्नेहरूलाई दमन गर्नुको साटो सम्मान दिएर अघि बढ्न सरकारलाई सुझाव दिएका छन्।