पृथ्वी जयन्ती कार्यक्रममा कमल थापा र राजेन्द्र लिङ्देन सँग - Chaitanya News
  • 2026-06-14
  • 09:34:52
  • आइतबार,जेठ ३१, २०८३
  • पृथ्वी जयन्ती कार्यक्रममा कमल थापा र राजेन्द्र लिङ्देन सँग

    पृथ्वी जयन्ती कार्यक्रममा कमल थापा र राजेन्द्र लिङ्देन सँग

    काठमाडौं– पृथ्वी जयन्ती मनाउने कार्यक्रममा बुधबार राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सँगै देखिए।

    राप्रपाले भृकुटीमण्डपमा ३०१ औं पृथ्वी जयन्तीको अवसरमा चियापान समारोह आयोजना गरेको छ। राप्रपाले चियापानका लागि विभिन्न दलका नेताहरूलाई बोलाएको थियो।

    सोहीअनुसार राप्रपा नेपालका अध्यक्ष थापा पनि भृकुटीमण्डप पुगेका हुन्। राप्रपा नेपालका अध्यक्ष थापा र राप्रपा अध्यक्ष लिङ्देन मञ्चमा सँगसँगै उभिएर नेता तथा कार्यकर्ताहरूलाई अभिवादन गरेका थिए।

    गत वर्ष मंसिरमा राप्रपाको महाधिवेशन भृकुटीमण्डपमै भएको थियो। त्यसबेला अध्यक्ष पदमा थापा र लिङ्देन प्रतिस्पर्धा गरेका थिए। लिङ्देन अध्यक्ष चुनिए। त्यसलगत्तै थापाले राप्रपा छाडेर आफ्नै नेतृत्वमा राप्रपा नेपाल पार्टी खोलेका थिए।

    यसबीचमा उनीहरूबीच भेटघाट भएको थिएन। पृथ्वी जयन्ती मनाउने कार्यक्रममा आज उनीहरू भेटिएका हुन्। पत्रकारहरूले राप्रपा नेपालका अध्यक्ष थापालाई पार्टी पनि एक गर्न लागेको हो भनेर जिज्ञासा राखेका थिए। त्यसमा जवाफ दिँदै थापाले यस विषयमा पछि कुराकानी गर्ने प्रतिक्रिया दिए।

    उनले पृथ्वी जयन्ती मनाउने कार्यक्रममा आफूहरू सधैं सँगसँगै रहेको बताएका थिए।