प्रधानमन्त्रीलाई ओली प्रवृत्तिको पछि नलाग्‍न माधव नेपालको आग्रह - Chaitanya News
  • 2026-04-29
  • 15:49:52
  • बुधबार,बैशाख १६, २०८३
  • प्रधानमन्त्रीलाई ओली प्रवृत्तिको पछि नलाग्‍न माधव नेपालको आग्रह

    प्रधानमन्त्रीलाई ओली प्रवृत्तिको पछि नलाग्‍न माधव नेपालको आग्रह

    काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफैंलाई सर्वेसर्वा ठान्ने केपी ओली प्रवृत्ति रहेको भन्दै त्यसको पछि नलाग्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेका छन्।

    प्रतिनिधिसभा विघटन गर्न नहुने संविधानको व्यवस्थालाई अझै स्विकार नगर्ने ओलीले आफूलाई सुप्रिमो ठान्ने गरेको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यस्तो नहुन प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका हुन्।

    पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भने, ‘कमसेकम विगतमा गल्ती हुन पुग्यो भनेर महसुस भए त हुन्थ्यो। तर यो महसुस नै नगर्ने राजनीतिक वृत्तमा एउटा प्रवृत्ति देखिन्छ–मैले जे गरेँ, ठिक गरेँ। शिक्षा नलिने, नचेत्ने, त्रुटि भएको महसुस नगर्ने, अहंकार प्रर्दशन गर्ने, सबै कुराको ज्ञाता मै छु भन्ने ठान्ने, आफूलाई सुप्रिम र सुप्रिमो ठान्ने नेपाली राजनीतिमा पनि यो प्रवृत्ति देखिन्छ। यो प्रवृत्तिको सरकार वर्तमान प्रधानमन्त्री नभईदिनु होला है। मेरो आग्रह छ।’

    उनले भ्रष्टाचार नियन्त्रण गर्ने, विकास, निर्माणको कामलाई गतिदिने आशा र अपेक्षासहित आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई १५ बूदे शर्तसहित विश्वासको मत दिएको पनि स्पष्ट पारे।

    अध्यक्ष नेपालले आफ्नो पार्टीले दिएको समाजवादको खाकासहितको १५ बूँदे सुझावलाई ध्यान दिएर प्रधानमन्त्री पुष्पकमल दाहाल अघि बढने विश्वास समेत व्यक्त गरे । उनले संविधानको मूल मर्म र भावनालाई ध्यान दिएर अघि बढन पनि प्रधानमन्त्री दाहाललाई सचेत गराए।

    अध्यक्ष नेपालले प्रतिनिधिसभा विघटन गर्न नमिल्ने संविधानको व्यवस्था भएपनि ओलीले आफूले ठिक गरे भनेर अझै पनि अहंकार प्रस्तुत गरिरहेको भन्दै आपत्ति समेत जनाए। उनले विश्वासको मत लिने बेलामा गरेका प्रतिवद्धताहरु पूरा गर्ने काममा केन्द्रित हुन पनि प्रधानमन्त्री दाहाललाई सुझाव दिए। सरकारले जनतालाई अनुभूति हुने गरी काम गरे आफ्नो पार्टीले प्रतिपक्षमा बसेर पनि साथ र सहयोग रहिरहने उनको भनाई थियो।

    अध्यक्ष नेपालले सरकारलाई राष्ट्र, राष्ट्रियता र जनजीविकाको सवालमा काम गर्न आफ्नो पार्टीले घच्घच्याई रहने पनि बताए। उनले देशलाई विदेशीहरुको क्रिडाभूमि बन्न नदिने काममा पनि वर्तमान सरकार सचेत रहनुपर्ने समेत बताए।