काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का राष्ट्रियसभा संसदीय दलका नेता खिमलाल भट्टराईले सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जापान भ्रमणको क्रममा दिएको अभिव्यक्तिले नेपाल राष्ट्र र नेपाली जनताको शिर निहुरिएको टिप्पणी गरेका छन्।
नेपालमा एक पटक पनि नआएका तत्कालीन प्रधानमन्त्री सिन्जु आबे नेपालमा आएको बेला दुई, तीन पटक दुई मुलुकको हितको विषयमा कुरा भएको भनेर अध्यक्ष दाहालले जापानमा अभिव्यक्ति दिएको भन्दै नेता भट्टराईले त्यसले सिंगो मुलुकको शिर निहुर्याएरको बताएका हुन्।
बुधबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै नेता भट्टराईले पूर्वप्रधानमन्त्री र सत्तारुढ दलको जिम्मेवार नेता दाहालले नेपाल भ्रमणमै नआएका आबेबारे अति हल्का टिप्पणी गरेको भन्दै आपत्ति जनाए।
उनले भारत भ्रमणको बेला पनि दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटन नसकेकोमा पनि असन्तुष्टि व्यक्त गरे।
नेता भट्टराईले मूल्यवृद्धिले आहत भएका जनतालाई सुन्न र देख्न नसकेको भन्दै सरकारको चर्को आलोचनासमेत गरे। दैनिक उपभोग्य खाद्यान्नको मूल्यवृद्धि एक वर्षमा सरकारले ११७ प्रतिशत वृद्धि गरेको उल्लेख गर्दै उनले आक्रोश समेत व्यक्त गरे।