नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसदमा विरोध कायमै रहन्छ : एमाले - Chaitanya News
  • 2026-06-08
  • 14:56:41
  • सोमबार,जेठ २५, २०८३
  • नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसदमा विरोध कायमै रहन्छ : एमाले

    नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसदमा विरोध कायमै रहन्छ : एमाले

    काठमाडौँ– नेकपा एमालेका प्रमुख सचेतक  तथा सांसद ऐन महरले नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीले संसदमा जवाफ नदिएसम्म संसदमा विरोध जारी रहने बताएका छन्। आज (सोमबार) राष्ट्रिय स्वतन्त्र पार्टीले बोलाएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग बोल्दै महरले यस्तो बताएका हुन्।

    बैठकमा रास्वपाका सभापति रवि लामिछानेको भारत भ्रमण र संसदमा देखिएको गतिरोध अन्त्यको विषयमा छलफल भएको उनले जानकारी दिए। तर दुवै विषयमा रास्वपाको प्रस्ट धारणा नआएको महरले बताए।

    ‘दुई विषयमा घनिभूत छलफल भयो। पहिलो, रास्वपाका सभापति रवि लामिछानेले भारत भ्रमणबारे जानकारी गराउनुभयो। त्यसमा हामीले इपीजीको विषयमा प्रश्न उठायौँ। अघिल्लो दिन प्रधानमन्त्रीले सीमा विवादबारे बोल्नुभयो। भोलिपल्ट सीमाको विषयमा छलफल भयो कि भएन ? त्यसमा उहाँले केही न केही भन्ने प्रयास गर्नुभयो। तर स्पष्ट जवाफ आएन’, उनले भने।

    यसैगरी संसद्को अवरोध हटाउने विषयमा पनि कुनै सहमति नभएको बताए। यसबारे सभापति लामिछानेले पार्टीभित्र र प्रधानमन्त्रीसँग छलफल गरेर मात्र निर्णयमा पुग्न सक्ने जवाफ दिएकाले सहमत हुन नसकेको उनले बताए।

    महरले भने, ‘संसद्को अवरोध गर्ने हाम्रो चाहना होइन। प्रधानमन्त्रीले तुरुन्तै संसदमा आएर जवाफ दिनुपर्छ भन्यौँ। सार्वभौम संसदमा जवाफ दिने विषयमा सभापतिले पार्टीभित्र छलफल गर्छौँ तर अहिले संसदमा जवाफ दिनुहुँदैन भन्नुभयो।’