सुदूरपश्चिम प्रदेश सरकारमा सत्ता साझेदार दलहरूले मन्त्री पदलाई पालैपालो बाँड्ने नीति अपनाउँदै मन्त्रिमण्डलमा ठूलो फेरबदल गर्न लागेका छन्। नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना वर्तमान मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ सांसदहरूलाई सरकारमा पठाउने निर्णय गरेका हुन्।
पार्टीभित्र लामो समयदेखि मन्त्री बन्ने आकांक्षा राखेका सांसदहरूको दबाब बढेपछि दुवै दलले नयाँ अनुहारलाई अवसर दिने रणनीति अघि सारेका छन्। सोही अनुसार आजै मन्त्रिमण्डल पुनर्गठन गरी नयाँ मन्त्रीहरूको शपथग्रहण गराउने तयारी गरिएको छ।
एमालेले आफ्नो कोटाबाट मन्त्री बन्ने सांसदहरूको नाम मुख्यमन्त्री कमलबहादुर शाहसमक्ष पठाइसकेको छ। पार्टीले संसदीय दलका उपनेता सन्तोष शर्मा, प्रमुख सचेतक चक्र मल्ल, दमन भण्डारी र जानकी ऐर बमलाई सरकारमा पठाउने निर्णय गरेको छ। यससँगै हाल सरकारमा रहेका एमालेका मन्त्री तथा राज्यमन्त्रीहरू बाहिरिने भएका छन्।
कांग्रेसले पनि आफ्ना सबै मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरे पनि नयाँ मन्त्रीहरूको नाम भने अझै सार्वजनिक गरेको छैन। पार्टीभित्रको शक्ति सन्तुलन मिलाउँदै अन्तिम टुंगो लगाउने तयारी भइरहेको बताइएको छ।
मुख्यमन्त्री शाहविरुद्ध केही महिनाअघि कांग्रेसकै सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेपछि सरकारभित्रको असन्तुष्टि सतहमा आएको थियो। मन्त्री पदको भागबन्डालाई लिएर चर्किएको विवाद साम्य पार्न अहिले नयाँ अनुहारलाई अवसर दिने सहमति जुटाइएको बताइन्छ।
सरकार पुनर्गठनमा मुख्यमन्त्री पक्ष र विद्रोही समूह दुवैतर्फका सांसदलाई समेट्ने तयारी छ। यसले सरकारभित्रको आन्तरिक विवाद मत्थर पार्ने र सत्तागठबन्धनलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।
मुख्यमन्त्रीको सचिवालयका अनुसार नयाँ मन्त्रीहरूको सूची आजै सार्वजनिक गरी साँझसम्म शपथग्रहण सम्पन्न गराउने तयारी गरिएको छ।