छानबिनबाट सफाइ पाउनेमा गुरुङ विश्वस्त, पुनः गृहमन्त्री बने पहिलो दुई महिना ‘प्रोटोकल भेटघाट’ बन्द गर्ने संकेत - Chaitanya News
  • 2026-06-07
  • 16:38:25
  • आइतबार,जेठ २४, २०८३
  • छानबिनबाट सफाइ पाउनेमा गुरुङ विश्वस्त, पुनः गृहमन्त्री बने पहिलो दुई महिना ‘प्रोटोकल भेटघाट’ बन्द गर्ने संकेत

    छानबिनबाट सफाइ पाउनेमा गुरुङ विश्वस्त, पुनः गृहमन्त्री बने पहिलो दुई महिना ‘प्रोटोकल भेटघाट’ बन्द गर्ने संकेत

    काठमाडौँ– पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङले आफ्नो सम्पत्तिसम्बन्धी उठेका प्रश्नहरूको निष्पक्ष छानबिन सहज बनाउनकै लागि मन्त्री पदबाट राजीनामा दिएको बताएका छन्।

    रास्वपा गोरखाको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले सार्वजनिक पदमा रहँदा उठेका प्रश्नहरूको जवाफ दिन आफू सधैं तयार रहेको उल्लेख गरे। उनले छानबिन समितिसमक्ष उपस्थित भई बयान दिइसकेको जानकारी पनि दिए।

    गुरुङका अनुसार बयानका क्रममा केही प्रश्नहरू कडा प्रकृतिका भए पनि आफूले सबै प्रश्नको स्पष्ट र सहज रूपमा जवाफ दिएका छन्।

    छानबिनका क्रममा भएको एक प्रसंग स्मरण गर्दै उनले हल्का शैलीमा भने, “समितिले मेरो सम्पत्तिको स्रोतबारे प्रश्न गरेपछि मैले पनि उहाँहरूको सम्पत्तिबारे छानबिन गर्न सकिन्छ नि भन्ने प्रतिक्रिया दिएको थिएँ।”

    उनले छानबिन समितिको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगिसकेको उल्लेख गर्दै आफू पूर्ण रूपमा निर्दोष सावित हुनेमा विश्वस्त रहेको बताए।

    कार्यक्रममा उनले भविष्यमा पुनः गृह मन्त्रालयको जिम्मेवारी पाएमा सुरुआती दुई महिना मन्त्रालयमा बधाई आदानप्रदान तथा फोटो खिच्ने उद्देश्यले नआउन आग्रह गर्ने योजना रहेको बताए। उक्त अवधिलाई पूर्ण रूपमा काममा केन्द्रित गर्नुपर्ने उनको धारणा थियो।

    संगठनात्मक विषयमा बोल्दै गुरुङले रास्वपाका जिल्ला नेतृत्वले जिल्लामै बसेर संगठन निर्माणमा सक्रिय हुनुपर्नेमा जोड दिए। राजधानीमा बसेर जिल्ला सभापतिको भूमिका निर्वाह गर्ने अभ्यासले प्रभावकारी संगठन निर्माण हुन नसक्ने उनको भनाइ थियो।

    उनले आगामी संगठनात्मक संरचनामा व्यवहारिक कार्यशैली अपनाउनुपर्ने आवश्यकता औँल्याउँदै जिल्लाको नेतृत्व जिल्लामै उपस्थित भएर सक्रिय हुनुपर्ने बताए।

    गोरखाका मतदाताप्रति आभार व्यक्त गर्दै उनले निर्वाचनमा प्राप्त समर्थन र विश्वासका लागि धन्यवादसमेत ज्ञापन गरे।