प्रधानमन्त्रीलाई मन लागे राष्ट्रिय गौरवको आयोजनामा राखौँ भन्ने हुनुहुँदैन  :  तिमिल्सिना - Chaitanya News
  • 2026-04-19
  • 14:49:17
  • आइतबार,बैशाख ०६, २०८३
  • प्रधानमन्त्रीलाई मन लागे राष्ट्रिय गौरवको आयोजनामा राखौँ भन्ने हुनुहुँदैन  :  तिमिल्सिना

    प्रधानमन्त्रीलाई मन लागे राष्ट्रिय गौरवको आयोजनामा राखौँ भन्ने हुनुहुँदैन  :  तिमिल्सिना

    काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजना तोकिएकै समयमा सक्नुपर्ने बताएका छन्। बुधबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमै नसकिँदा लाभ लिनबाट वञ्चित हुनु परेको बताएका हुन्।

    उनले मेलम्ची आयोजनाको काम अहिलेसम्म नसकिँदा पानीको कारणले कति स्वास्थ्यलाभ गर्ने अवसरबाट वञ्चित हुनुपरेको बताए। अध्यक्ष तिमिल्सिनाले आयोजना ढिलो हुँदा लागत बढ्दै गएको र सरकारले यति ठूला आयोजनाको लागत बढ्दै जाँदा धान्न मुस्किल हुने भन्दै कामहरू समयमै सक्नुपर्ने बताए।

    उनले सरकारले योजना गर्दा व्यावहारिक गर्न नसकेको भन्दै उनले त्यसलाई सच्याएर अघि बढ्न आवश्यक रहेको बताए। ‘कुनैकुनै आयोजना जति छिटो सक्छौँ त्यति राज्यले प्रतिफल पाउँछ। कुनैपनि आयोजना ढिला हुँदा लागत बढिहाल्छ। त्यसको लाभ हामीले जे लिने हो त्यो ढिलो गरेर लिन्छौँ। मेलम्ची आयोजना पहिल्यै सकिनुपर्थ्यो,’ अध्यक्ष तिमिल्सिनाले भने, ‘यो नसकिँदा आजसम्म हामीले पानीको कारणले कति स्वास्थ्यलाभ गर्ने अवसरबाट वञ्चित हुनु परेको छ। त्यसकारण आयोजना समयमै सक्नुपर्छ। तामाकोशी जलविद्युत् आयोजना ढिलो हुँदा लागत बढ्दै गएको छ, राज्यले पाउने चिज गुमाउँदै गएको छ। त्यसकारण समयमै काम सक्नुपर्छ। हामीले योजना गर्दा सुरु र अन्त्य कहिलेसम्म भन्दा व्यवहारिक गरेनौँ किरु यदी व्यावहारिक नगरे व्यावहारिक गर्नुपर्छ।

    उनले राष्ट्रिय गौरव भनिरहँदा राष्ट्रिय गौरवका आयोजनाको निश्चित परिभाषा, निश्चित अर्थ र महत्व हुनुपर्ने बताए । अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजना प्रधानमन्त्री, अर्थमन्त्री वा अन्य मन्त्री र सरकारको पहुँचमा रहेका नेताहरूको मन परेको योजनालाई बनाउने कुरा हुनु नहुने बताए।

    पहिलो कुरा त राष्ट्रिय गौरवका आयोजना भनेर भनिरहँदा राष्ट्रिय गौरवका आयोजनाको निश्चित परिभाषा र निश्चित अर्थ, महत्व हुनुपर्छ। प्रधानमन्त्रीलाई कहिले मन लाग्यो, यो राष्ट्रिय आयोजनामा राखौँ, अर्थ मन्त्रीलाई मन लागे यो राष्ट्रिय आयोजनामा राखौँ, अरू मन्त्री, सरकारमा पहुँच हुने नेताले भनेर राख्ने भन्ने हुनुहुँदैन। त्यसकारण त्यसको निश्चित परिभाषाका साथ राष्ट्रिय गौरव भन्न लायक योजनालाई मात्रै राखौँ नत्र छैन भने हटाऔँ । समयमै काम सम्पन्न नभएका योजनाका बारेमा समितिले निगरानी राख्नुपर्छ,’ उनले भने।

    अध्यक्ष तिमिल्सिनाले समयमै योजनाहरूको काम सकिएको छ वा छैन भन्ने बारेमा समितिले निगरानी बढाउनुपर्ने बताए।