काठमाडौँ– नेपाली काँग्रेसले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सीमा विवादबारे दिएको अभिव्यक्तिको विषयमा छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ।
आज (सोमबार) राष्ट्रिय सभाको बैठक प्रारम्भ हुनासाथ आकस्मिक समयमा बोल्दै काँग्रेस सांसद रञ्जित कर्णले उक्त माग अघि सारेका हुन्। उनले प्रधानमन्त्रीको भनाइका आधार र तथ्य सार्वजनिक गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै स्पष्टीकरण दिनुपर्ने बताएका छन्।
कर्णले प्रधानमन्त्रीलाई आफ्नो अभिव्यक्तिबारे सार्वजनिक रूपमा तथ्यगत आधार प्रस्तुत गर्न अल्टिमेटम दिँदै त्यसो नभए जनतासमक्ष माफी माग्नुपर्ने धारणा समेत राखे।
यसअघि प्रतिनिधि सभामा प्रधानमन्त्री शाहले नेपाल–भारत सीमा समस्या कूटनीतिक संवादमार्फत समाधान गर्नुपर्ने उल्लेख गर्दै दुवै देशबीच केही स्थानमा सीमासम्बन्धी विषय रहेको टिप्पणी गरेका थिए।
सोही अभिव्यक्तिलाई लिएर राजनीतिक दलहरूबीच बहस चर्किँदै गएको छ भने संसद्भित्र पनि यस विषयमा छलफल तथा विरोधका गतिविधि जारी रहेका छन्।