विद्यार्थीले स्प्रिट पिएर ज्यान गएपछि अवस्था तनावग्रस्त, ५ राउन्ड गोली चल्यो - Chaitanya News
  • 2026-04-26
  • 16:20:12
  • आइतबार,बैशाख १३, २०८३
  • विद्यार्थीले स्प्रिट पिएर ज्यान गएपछि अवस्था तनावग्रस्त, ५ राउन्ड गोली चल्यो

    विद्यार्थीले स्प्रिट पिएर ज्यान गएपछि अवस्था तनावग्रस्त, ५ राउन्ड गोली चल्यो

    सिरहा – सिरहाको मिर्चैया नगरपालिका ३ मा रहेको विद्यालयमा अध्ययनरत एक छात्राको ज्यान गएपछि अवस्था तनावग्रस्त बनेको छ।

    गएको शुक्रवार विद्यालयमा छँदा औषधि खाने क्रममा स्प्रिट पिएर बिरामी भएकी सगरमाथा उच्च माध्यामिक विद्यालयमा अध्ययनरत १६ वर्षे सृनजाकुमारी महराको उपचारका क्रममा हिजो ज्यान गएको थियो। शनिवार राति १२ बजे उपचारका क्रममा फुलबारी मेमोरियल अस्पतालमा उनको ज्यान गएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर वलीले जानकारी दिए।

    छात्राको ज्यान गएपछि आक्रोशित विद्यार्थी र अभिभावकले विद्यालय तोडफोड गरेका छन्। आन्दोलनका क्रममा भिडले पूर्व–पश्चिम राजमार्ग बन्द गरी नाराबाजीसमेत गरेका थिए। आक्रोशित प्रदर्शनकारी अनियन्त्रित भएपछि भिडलाई तितरबितर बनाउन तीन सेल अश्रु ग्यास र पाँच राउन्ड हवाई फायर गरिएको प्रमुख जिल्ला अधिकारी लालबाबु कबारीले जानकारी दिए।

    गएको शुक्रवार पेट दुखेपछि विद्यालयकी शिक्षिका अम्बिका लम्सालले औषधि खाने क्रममा पानीको सट्टा स्प्रिट दिँदा छोरी बिरामी भएको बुबा धर्मेन्द्र महराले बताए। स्प्रिट पिएपछि बिरामी भएकी सृनजालाई उपचार नगरि विद्यालयका प्रधानाध्यापक प्रदीप तिवारीले घर पुर्‍याएकाले समयमै उपचार हुन नसकेको उनको भनाइ छ।

    ‘प्रिन्सिपल सरले थोरै स्प्रिट पिएकाले नसा लागेको र केहीबेर सुताएपछि निको हुन्छ भनेपछि हामीले विश्वास गर्‍यौँ’, उनले भने, ‘अवस्था खराब हुँदै गएपछि अस्पताल पुर्‍यायौँ तर ढिला भइसकेको रहेछ।’

    दुई जना पक्राउ

    प्रहरीले औषधि दिने शिक्षिका अम्बिका लम्साल र प्रधानाध्यापक प्रदीप तिवारीलाई पक्राउ गरेको छ। मृतकका बुबा धर्मेन्द्रले दोषीमाथि कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएका छन। जाहेरी दिएपछि प्रहरीले अनुसन्धानका लागि दुवै जनालाई पक्राउ गरेको हो।

    सिरहाका डीएसपी वलीले घटनाको सम्बन्धमा छानबिन भइरहेको बताए।