धनुषा – विद्यालयमा पानी भनेर स्प्रिट पिएर सिरहामा एक विद्यार्थीको ज्यान गएपछि स्थानीयवासी आन्दोलित भएका छन्। उनीहरूले शिक्षिकाको लापर्बाहीका कारण विद्यार्थीको ज्यान गएको भन्दै आज आइतवार बिहानैदेखि मिर्चैयाको पूर्व–पश्चिम राजमार्ग बन्द गर्दै आन्दोलन गरिरहेका हुन्।
स्थानीयले इलाका प्रहरी कार्यालय मिर्चैया ढुङ्गामुढा गरेका छन्। ढुङ्गामुढाबाट कार्यालयमा क्षति पुग्नुका साथै पाँच जना प्रहरी घाइते भएका मिर्चैयाका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर ओलीले बताए।
सिरहाको मिर्चैया नगरपालिका ६ सगरमाथा माविमा कक्षा ८ मा अध्ययनरत छात्रा १५ वर्षीया सिर्जनाकुमारी महराको ज्यान गएको हो। अस्ति शुक्रवार पेट दुखेपछि सिर्जनाले औषधि खान पानी मागेकी थिइन्। शिक्षिका अम्बिका लम्सालले पानी भनेर झुक्किएर स्प्रिट दिएको र त्यो खाएकाले सिर्जनाको ज्यान गएको स्थानीयवासिले बताएका छन्। सिर्जनाको उपचारका क्रममा हिजो शनिवार कर्जन्हाको फुलकुमारी महतो अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ।