व्यक्तिगत रुपमा प्रधानमन्त्री दाहालप्रति सकारात्मक धारणा छ : अध्यक्ष नेपाल - Chaitanya News
  • 2026-04-27
  • 00:51:08
  • आइतबार,बैशाख १३, २०८३
  • व्यक्तिगत रुपमा प्रधानमन्त्री दाहालप्रति सकारात्मक धारणा छ : अध्यक्ष नेपाल

    व्यक्तिगत रुपमा प्रधानमन्त्री दाहालप्रति सकारात्मक धारणा छ : अध्यक्ष नेपाल

    काठमाडौँ– एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’प्रति सकारात्मक धारणा रहेको बताएका छन्।

    नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले व्यक्तिगत रुपमा प्रचण्डप्रति सकरात्मक धारणा रहेको बताएका हुन्।

    तर सरकारलाई विश्वासको मत दिने विषयमा भने सबै पक्षको विष्लेषण गरेर मात्रै निर्णय लिने उनले बताए। अध्यक्ष नेपालले भने, ‘प्रचण्डप्रति सकारात्मक धारणा छ, सरकार कुन ढंगले अघि बढ्छ, सोहीअनुसार निर्णय लिन्छौँ।’अबको ध्यान पार्टी निर्माणमा रहेको उनले उल्लेख गरे।

    ‘पार्टीलाई सुदृढ बनाउने, बिस्तार गर्ने अबको अभियान हो, हाम्रो फोकस भनेको जनता र राष्ट्रका बिषयबस्तु उठानमा केन्द्रित हुनेछ,’ उनले भने।

    उनले ‘क्रान्तिकारी र अरुभन्दा भिन्न पार्टी निर्माण गरेर अघि बढ्ने तयारी’ रहेको बताए। ‘पार्टी निर्माणकै क्रममा रहँदा एक पछि अर्को निर्वाचनमा होमिनुपर्‍यो, निर्वाचन सकिएपछि अब हामीसँग समय छ। देशव्यापी रुपमा रहेको पार्टीको शक्ति र संगठनलाई व्यवस्थित पार्ने छौँ। विचार, नीति र विधि मिल्नेहरुसँग एकता पनि गर्नेछौँ,’ उनले भने।

    उनले विचार मिल्नेसँग मोर्चा बनाएर अघि बढ्ने पनि बताए। ‘को(को पार्टी आउँछन्, त्यो हेर्दै छौँ, हेरिसकेपछि विचार मिलेको खण्डमा मोर्चा बनाएर अघि बढ्नेछौँ,’ उनले भने।

    जसपासँग वार्ताको प्रक्रिया आरम्भ गर्ने पनि उनले बताए। ‘सहकार्य र पार्टी एकताको प्रयास हुनेछ। हामीसँग सकारात्मक भएका दलहरुसँग सोही अनुरुप प्रस्तुत हुनेछौँ। व्यक्तिगत भावना राख्नेहरुको बेग्लै कुरा हो। सद्भाव राख्नेलाई धन्यवाद,’ उनले भने।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कुनै ठोस वार्ता नभएको पनि उनले बताए।