काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निर्वाचित सांसद तथा सरकारका गृहमन्त्री सुधन गुरुङलाई कारबाही गर्ने सम्बन्धमा पार्टीभित्र छलफल भएको छ।
गुरुङमाथि लागेको आरोपबारे आन्तरिक छानबिन गर्ने सम्बन्धमा पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटी र अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालबिच सोमबार बिहान कुराकानी भएको स्रोतले जानकारी दियो । गम्भीर विषय भएकाले यस सम्बन्धमा सोमबार दिउँसो ३ बजे बस्ने केन्द्रीय समिति बैठकमा थप छलफल भएर आवश्यक निर्णय लिने तयारी भएको स्रोतको भनाइ छ।
गृहमन्त्री बनेको एक महिना नपुग्दै गुरुङ सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिनमा रहेका विवादास्पद व्यापारी दीपक भट्ट र व्यापारी घराना शंकर ग्रुप लगायतसँग बिजनेस पार्टनर भएको विषय बाहिरिएको थियो।
सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका दीपक भट्टसँग उनको कनेक्सन भेटिएको समाचार बाहिरिएपछि गुरुङको चौतर्फी आलोचना भइरहेको छ।
‘बिचौलिया दीपक भट्टसँग गृहमन्त्रीजी बिजनेस पार्टनर रहेको मिडियामा आएको छ। यस विषयमा छानबिन गर्ने र कसरी कारबाही प्रक्रिया अगाडि बढाउने भन्नेबारे पार्टी महामन्त्री र अनुशासन आयोगका प्रमुखबिच आज बिहान छलफल भएको छ। दिउँसो पार्टी हाइकमाण्डको बैठक भएकाले निर्णय आएपछि मात्र छानबिन प्रक्रिया अगाडि बढ्छ। अनुशासन आयोगले पनि छानबिन प्रक्रिया अगाडि बढाउँछ’, स्रोतले भन्यो।
महामन्त्री बुर्लाकोटीले भने गुरुङको सेयर लगानी गैरकानुनी रूपमा गरिएको हो वा होइन भन्ने विषयमा सम्बन्धित व्यक्तिसँग सोधपुछ गरेर अगाडि बढ्ने प्रतिक्रिया दिए।
मिडियामा समाचार आइसकेपछि सरकारले नै यसको अनुसन्धान गर्ने विश्वास गर्दै उनले यदि अनुसन्धानका क्रममा दोषी प्रमाणित भएमा जोसुकै भए पनि कारबाहीको भागिदार बन्ने बताए।
यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक साहले पदीय दुरुपयोग गरी श्रीमतीलाई स्वास्थ्य बिमा बोर्डको सदस्यमा सक्रिय बनाएको आरोपमा अनुशासन समितिले कारबाही सिफारिस गरेको थियो। त्यही आधारमा प्रधानमन्त्री बालेन शाहले साहलाई पदमुक्त गरेका थिए।