देउवा समूहको छलफलमा ४ नेताले उठाए नयाँ पार्टी गठन गर्नेसम्मको विषय - Chaitanya News
  • 2026-04-19
  • 22:11:54
  • आइतबार,बैशाख ०६, २०८३
  • देउवा समूहको छलफलमा ४ नेताले उठाए नयाँ पार्टी गठन गर्नेसम्मको विषय

    देउवा समूहको छलफलमा ४ नेताले उठाए नयाँ पार्टी गठन गर्नेसम्मको विषय

    काठमाडौँ– नेपाली कांग्रेसभित्र शेरबहादुर देउवा समूहको छलफलमा ४ नेताले नयाँ पार्टी गठन गरेर अगाडि बढ्नुपर्ने विषय उठाएका छन्। काठमाडौँको महाराजगन्जमा चलिरहेको छलफलमा धारणा राख्ने निवर्तमान केन्द्रीय सदस्यहरू कुन्दनराज काफ्ले, शिवप्रसाद हुमागाईं र गुरु बराल र सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले छुट्टै पार्टी गठन गरेर अगाडि बढ्नुपर्ने धारणा राखेका हुन्।

    ‘अहिलेसम्म बोलेकामध्ये ४ जना नेताहरूले छुट्टै पार्टी गठन गरेर जानुपर्ने कुरा पनि राख्नुभएको छ,’ छलफलमा सहभागी एक नेताले भने, ‘पार्टीभित्र सम्मानपूर्ण तरिकाले अगाडि बढ्ने अवस्था भएन भने बेग्लै पार्टी खोल्नुपर्छ भन्ने धारणा उहाँहरूको छ।’

    पार्टीभित्र सम्मानपूर्वक अगाडि बढ्ने अवस्था आएमा भने १५ औँ महाधिवेशनको तयारीमा लाग्नुपर्ने उनीहरूको भनाइ रहेको ती केन्द्रीय सदस्यले बताए।

    समूहले सर्वोच्चको फैसलालाई असहमति भए पनि स्वीकार्ने बताएको छ । फैसलामा लेखिएका केही विषयहरूमा आफूहरूको फरक मत भने कायमै रहेको समूहको भनाइ छ।

    सभापति थापाले भने सर्वोच्च अदालतको निर्णय कुनै जित–हारको विषय होइन, विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय हो भनेका छन्।

    ‘यो निर्णयले पार्टीका सबै साथीहरूलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको छ’ थापाले सामाजिक संजालमा लेखेका छन्, ‘पार्टीका सदस्य र शुभेच्छुकहरू, देशभित्र वा बाहिर जहाँ भए पनि, अब आ(आफ्नो ठाउँबाट अझ जिम्मेवारीका साथ पार्टीको एकता र पुनर्जागरणका लागि सकारात्मक भूमिका हुनेछ भन्ने मेरो विश्वास छ।’