पाल्पा बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, ज्यान गुमाउने एकै वडाका ६ महिला - Chaitanya News
  • 2026-04-26
  • 14:59:33
  • आइतबार,बैशाख १३, २०८३
  • पाल्पा बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, ज्यान गुमाउने एकै वडाका ६ महिला

    पाल्पा बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, ज्यान गुमाउने एकै वडाका ६ महिला

    काठमाडौं- पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा बिहीबार राति भएको बस दुर्घटनामा एकै वडाका ६ महिलाको निधन भएको छ।

    रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर प्रस्थान गरेको ग १ ख ४९७७ नम्बरको बस राति साढे ९ बजे रैनादेवी छहरा ८ खुर्सानेमा दुर्घटना भएको थियो। उक्त दुर्घटनामा आमाछोरीसहित एकै गाउँका ६ महिलाको निधन भएको प्रहरीले जनाएको छ।

    दुर्घटनामा ज्यान गुमाउनेमा ३३ वर्षीया निर्मला घिमिरे, उनकी छोरी ११ वर्षीया सुरुमा घिमिरे, ५४ वर्षीया खेमकुमारी राना, १९ वर्षीया विमा पाण्डेय, ४५ वर्षीया गुनाकुमारी गाहा र २१ वर्षीया दानकुमारी खत्री रहेका छन्। मृतक सबै रैनादेवी छहरा–८ कै हुन्।

    दुर्घटनामा १८ जना घाइते भएको पाल्पाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र थापाले बताए। घाइतेहरूलाई उपचारका लागि बुटवल पठाइएको छ।

    यसैबीच  दुर्घटनामा निधन भएकाहरूप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले श्रद्धाञ्जली व्यक्त गरेका छन्।

    प्रधानमन्त्री दाहालले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेका हुन्। उनले दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

    उनले सार्वजनिक यातायात सुरक्षित र मर्यादित तुल्याउन भूमिका खेल्न सबैमा अपिल गरेका छन्।