मिट्यान्स, निर्यात र पर्यटन क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्न सकेमात्रै मुलुकको अर्थतन्त्र बलियो हुन्छ : गोल्छा - Chaitanya News
  • 2026-04-26
  • 14:58:12
  • आइतबार,बैशाख १३, २०८३
  • मिट्यान्स, निर्यात र पर्यटन क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्न सकेमात्रै मुलुकको अर्थतन्त्र बलियो हुन्छ : गोल्छा

    मिट्यान्स, निर्यात र पर्यटन क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्न सकेमात्रै मुलुकको अर्थतन्त्र बलियो  हुन्छ : गोल्छा

    काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मिट्यान्स, निर्यात र पर्यटन क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्न सकेमात्रै मुलुकको अर्थतन्त्र बलियो हुने बताएका छन्।

    बिहीवार नेपाल निर्यात परिषद्ले आयोजना गरेको नेपाली निर्यातजन्य वस्तुहरुको प्रदर्शनीमा सञ्चारकर्मीहरुसँग बोल्दै अध्यक्ष गोल्छाले मुलुकको अर्थतन्त्र रेमिट्यान्स मात्रै आएर नचल्ने भन्दै रेमिट्यान्स, निर्यात र पर्यटन तीन वटै क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्न सकेमात्रै मुलुकको अर्थतन्त्र बलियो हुने बताएका हुन्। उनले सरकारले रेमिट्यान्स भित्र्याउने, नेपाली उत्पादित वस्तु विदेशमा निर्यात गर्ने र पर्यटक धेरै भित्र्याएर विदेशी मुद्रा आर्जनका तीन वटै क्षेत्रलाई चलायमान बनाउन जरुरी रहेको बताए।

    उनले अर्थतन्त्रको तीन वटा इन्जिनमध्ये रेमिट्यान्स मात्रै आएर मुलुकको अर्थतन्त्र सबल बन्न नसक्ने उल्लेख गरे। अध्यक्ष गोल्छाले सरकारले विदेशी मुद्रा आर्जनको लागि मौलिक वस्तुको निर्यातका लागि प्रोत्साहन गर्न आवश्यक रहेको बताए। उनले बैकिङ प्रणालीमा तरलताको अभाव र सोधानान्तर स्थिति कमजोर भएकाले मुलुकको अर्थतन्त्र गम्भिर अवस्थामा पुगेको बताए। उनले अहिले विदेशी मुद्राको आय स्रोत ९० प्रतिशत रेमिट्यान्स मात्रै भएकाले निर्यात र पर्यटनमा सरकारले विशेष जोड दिन सुझाव दिए। अध्यक्ष गोल्छाले नेपाली निर्यातजन्य वस्तुहरुको उत्पादनमा वृद्धि गर्नु आवश्यक रहेको पनि बताए। उनले नेपाल भूपरिवेष्ठित राष्ट्र भएकाले निर्यातका लागि ठूलो चुनौति भएको उल्लेख गर्दै सरकारले निर्यात प्रोत्साहनको लागि नगद अनुदानको व्यवस्था गरेपनि निर्यातकर्ताहरुले सहज रुपमा पाउन नसकेको गुनासो गरे। अध्यक्ष गोल्छाले नेपालमा कस्ट अफ डुईङ विजनेस बढीरहेकाले नेपाली निर्यातजन्य वस्तुहरुलाई प्रतिष्पर्धी बनाउन नसकिएको बताउदै निर्यातकर्तालाई सरकारले दिने अनुदान सहज रुपमा पाउनको लागि एस्पोर्ट हाउसको स्थापना गर्न आवश्यक रहेको बताए।

    उनले भने,‘मुलुकको अर्थतन्त्र गम्भिर अवस्थामा छ। खास गरेर बैकिङ प्रणालीमा तरलताको अभाव र शोधानान्तर स्थिति कमजोर भएकाले अर्थतन्त्रको यो स्थिति आएको हो। विदेशी मुद्राको आय स्रोत एउटा मात्रै भयो। त्यो रेमिट्यान्स मात्रै हो। ९० प्रतिशत आय रेमिट्यान्स छ। पहिला पर्यटनबाट पनि विदेशी मुद्रा आर्जन हुने गरेको थियो। निर्यातको पनि प्रतिशत बढी थियो । अहिले सबैले निर्यात बढाउन जरुरी छ। निर्यात बढाउनको लागि निर्यात क्षेत्रमा रहेका भूपरिवेष्ठित राष्ट्र भएकाले चुनौतिहरु रहेको छ। हाम्रो कष्ट अफ डुईङ विजनेश बढीरहेको छ। हाम्रो लागत खर्च देखि श्रमिक खर्च समेत महँगो छ। लागत धेरै भएकाले निर्यातको धेरै वस्तुहरुमा प्रतिष्पर्धी बन्नसकेका छैनौं। यो प्रतिष्पर्धी बन्न जरुरी रहेको छ। अहिले सरकारले निर्यातलाई प्रोत्साहन गर्नको लागि निर्यातमा नगद अनुदान दिने घोषणा गरेको छ। त्यसको नियमावली पनि बनेको छ। तर निर्यातकर्ताहरुले अनुदान आउनसकेका छैनन्। निर्यातकर्ताहरुले इन्सेन्टिभ दिनको लागि एस्पोर्ट हाउसको अवधारणा ल्याएका छौं। एस्पोर्ट हाउसले निर्यात हुने वस्तुको इन्सेन्टिभ पाउनको लागि पनि यो अवधारणा अघि सारिएको हो। समग्रमा मुलुकको अर्थतन्त्र जुन विमान हो जसको एउटा मात्रै इन्जिन रेमिट्यान्स चलेको छ। अर्को इन्जिन निर्यात हुनसक्छ। तेस्रो इन्जिन पर्यटन बन्नसक्छ। तीन वटै इन्जिन चल्ने हो भने अर्थतन्त्र बलियो हुन्छ। यसमा सरकारले ध्यान दिन जरुरी छ। सबैले निर्यात अनुदान पाउनुपर्छ। हाम्रो मौलिक वस्तुहरुको निर्यातलाई प्रोत्साहन गर्न जरुरी छ।’

    निर्यात परिषद्ले २५ औं वार्षिक साधारण सभा तथा निर्यात दिवसको अवसरका दुई दिने नेपाली निर्यातजन्य वस्तुहरुको प्रदर्शनी काठमाडौंको ठमेलमा रहेको छाँया सेन्टरमा शुरु गरेको छ। पदर्शनीमा निर्यातजन्य नेपाली उत्पादनका विभिन्न विधालाई समावेश गरिएको छ। प्रदर्शनीमा २० वटा स्थलहरु राखिएको छ।