गठबन्धन टुट्नुमा कांग्रेस दोषी छैन : प्रवक्ता महत - Chaitanya News
  • 2026-04-26
  • 22:01:56
  • आइतबार,बैशाख १३, २०८३
  • गठबन्धन टुट्नुमा कांग्रेस दोषी छैन : प्रवक्ता महत

    गठबन्धन टुट्नुमा कांग्रेस दोषी छैन : प्रवक्ता महत

    काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले चुनावपछि पनि गठबन्धनलाई निरन्तरता दिन कांग्रेसले कोसिस गरे पनि सफल नभएको बताएका छन्।

    केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै आज प्रवक्ता महतले गठबन्धन छाडेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गएको बताए।

    ‘प्रचण्डले गठबन्धन छाडेर जानुभयो जुन निर्वाचन दौरान गरिएका प्रतिबद्धताविपरीत थियो,’ महतले भने, ‘किन प्रचण्डले गठबन्धनलाई टुट्न दिनुभयो भन्नेबारे विश्लेषण हुँदै जालान्। तर गठबन्धन टुट्नुमा कांग्रेस दोषी छैन।’

    उनले निर्वाचनमा कांग्रेसले अपेक्षा गरेअनुसार परिणाम ल्याउन नसके पनि सन्तोषजनक परिणाम आएको बताए। कांग्रेस सबैभन्दा ठूलो पार्टी भए पनि प्रतिपक्षमा रहनुपर्ने परिवेश सिर्जना भएको उनले बताए।

    ‘कांग्रेस विचलित भएको छैन। हामीले कहीँ कतै पनि वैकल्पिक नेतृत्व जुटाएर प्रधानमन्त्री लिने प्राथमिकता लिएनौं,’ उनले भने, ‘अब हामी सशक्त प्रतिपक्षको भूमिका खेल्छौं। पार्टी संगठन विस्तारलगायत काम गर्छौं।’

    उनले अब आउने निर्वाचनमा एक्लै पनि जित्न सक्ने गरी पार्टीलाई रूपान्तरण गरिने बताए।