मुख्यमन्त्रीले छलफल नगर्दा प्रदेश १ को नाम जुरेन : नेता शेरधन राई - Chaitanya News
  • 2026-04-19
  • 10:29:31
  • आइतबार,बैशाख ०६, २०८३
  • मुख्यमन्त्रीले छलफल नगर्दा प्रदेश १ को नाम जुरेन : नेता शेरधन राई

    मुख्यमन्त्रीले छलफल नगर्दा प्रदेश १ को नाम जुरेन : नेता शेरधन राई

    भोजपुर– प्रदेश १ सरकारले छलफलका लागि सबै ढोका बन्द गरेकाले प्रदेशको नामकरण हुन नसकेको पूर्व मुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले बताएका छन्।

    एमाले नामको विषय चाँडो टुङ्गो लगाउने पक्षमा रहे पनि वर्तमान मुख्यमन्त्री राजेन्द्र कुमार राईले दलहरूसँग छलफलका लागि चासो नदिएको राईको भनाइ छ।

    मंगलबार प्रेस चौतारी नेपाल भोजपुरले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत हालका मुख्यमन्त्रीले आफ्नो हठ गर्दा नाम राख्ने विषय पेचिलो बन्दै गएको बताए। मुख्यमन्त्री राईले आफूले चाहेको बाहेक अरू कुनै पनि प्रस्तावित नामको बारेमा छलफल नै गर्न नचाहेको राईको आरोप छ।

    प्रदेश १ को नामकरणको विषय संवेदनशील रहेको बताउँदै राईले भने, ‘हामी प्रस्तावित सबै नामको विषयमा छलफल गर्न तयार छौँ तर मुख्यमन्त्री राईका कारण नामकरणको विषय पेचिलो बन्दै गएको छ। यो छोटो समयमा भए पनि सहमतिका आधारमा प्रदेशको नाम राख्न एमाले लागिपरेको छ।

    आफ्नो कार्यकालमा प्रदेशको राजधनी टुङ्गो लगाएपछि नामकरण गर्न पहल गरे पनि दलहरुबीच उत्पन्न भएको किचलोका कारण नाम राख्न नसकिएको पूर्व मुख्यमन्त्री राईको भनाइ छ।

    ‘म मुख्यमन्त्री हुँदा नाम राख्न धेरै कोसिस गरियो’, राईले भने, ‘दुई तिहाइ त थियो तर नाम मात्रको। बहुमतका आधारमा नामकरण गर्न त्यति वेला सत्तामै भएका साथीहरूको साथ नभएपछि सकिएन। यहाँ किचलो देखेर नामकरणको जिम्मा प्रदेश सांसदको काँधमा सुम्पिएको थियो। नामकरणको विषय मैले मात्र चाहेर पूरा हुने विषय थिएन।’

    अहिले सरकारलाई सहमतिको आधारमा नामकरण गरौँ भन्दा छलफल गर्ने अवस्था नरहेको राईको भनाइ छ। सहमतिका लागि एमाले अहिले उठेका किरात, कोशी किरात, सगरमाथा, विजयपुर, सप्तकोशी वा अन्य सबै नामको विषयमा छलफल गर्न तयार रहेको राईले बताए।