“चैतन्य कला साहित्य साधना पुरस्कार–२०८२” बाट सर्जक निर्मल कुमार भण्डारी सम्मानित - Chaitanya News
  • 2026-04-12
  • 15:36:03
  • आइतबार,चैत्र २९, २०८२
  • “चैतन्य कला साहित्य साधना पुरस्कार–२०८२” बाट सर्जक निर्मल कुमार भण्डारी सम्मानित

    “चैतन्य कला साहित्य साधना पुरस्कार–२०८२” बाट सर्जक निर्मल कुमार भण्डारी सम्मानित

    धनगढी- “ज्ञानको उत्सव, सहृदयताको सम्मान” भन्ने नाराका साथमा सुरु भएको चैतन्य पाठशालाको २५औं वार्षिकोत्सव समारोहको अवसरमा साहित्य तथा कला क्षेत्रमा दीर्घकालीन योगदान पु¥याएका सर्जक निर्मल कुमार भण्डारीलाई विशेष सम्मान प्रदान गरिएको छ । विद्यालयले समाजमा सृजनशीलता, साहित्य र सांस्कृतिक चेतनाको प्रवर्द्धनमा योगदान दिने व्यक्तित्वहरूको कदर गर्ने उद्देश्यले हरेक वर्ष प्रदान गर्दै आएको सम्मान अन्तर्गत यस वर्ष भण्डारीलाई “चैतन्य कला साहित्य साधना पुरस्कार–२०८२” प्रदान गरिएको हो ।

    सुदूरपश्चिम विश्वविद्यालयका रजिस्ट्रार तथा कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्राध्यापक डा। हेमराज पन्त, आध्यात्मिक चिन्तक चैतन्य कृष्ण महाराजज्यू, चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझा र पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले सामूहिक रूपमा खादा माला दोसल्ला, अभिनन्दन पत्र र नगद रु. २५ हजारसहित “चैतन्य कला साहित्य साधना पुरस्कार–२०८२”  प्रदान गरेको हो ।

    वि.सं. २०१३ साल माघ १२ गते डोटी जिल्लाको जोरायल गाउँपालिका–३ मा जन्मिएका भण्डारी नेपाली तथा स्थानीय भाषा–साहित्यको विकासमा समर्पित सर्जकका रूपमा परिचित रहेका छन् ।
    वि।सं। २०३८ सालदेखि निरन्तर रूपमा साहित्य सिर्जनामा सक्रिय रहँदै आएका भण्डारीले छन्द कविता, डोटेली गीत तथा विभिन्न साहित्यिक विधामा उल्लेखनीय रचनाहरू सिर्जना गर्दै साहित्यिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याएको र उनका सिर्जनाहरूले स्थानीय संस्कृति, भाषा, परम्परा तथा समाजका विविध पक्षलाई उजागर गर्दै साहित्यिक जगतमा विशेष स्थान बनाएको चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझाले बताए ।

    सम्मान ग्रहण गर्दै सर्जक निर्मल कुमार भण्डारीले आफूलाई गरिएको सम्मानले थप प्रेरणा र जिम्मेवारी बोध गराएको बताए । उनले साहित्य सिर्जना केवल व्यक्तिगत अभिव्यक्ति मात्र नभई समाज र संस्कृतिप्रतिको उत्तरदायित्व पनि भएको उल्लेख गर्दै आगामी दिनमा पनि साहित्यिक साधनालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

    विद्यालय परिवारका अनुसार शिक्षा, कला, साहित्य र समाजसेवामा उल्लेखनीय योगदान पु¥याएका व्यक्तित्वहरूको सम्मानले समाजमा सकारात्मक सन्देश फैलाउने र नयाँ पुस्तालाई प्रेरणा प्रदान गर्ने विश्वास लिइएको छ । कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, साहित्य प्रेमी तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको छ ।