वाको नेतृत्वमा नेपाल द्रुत विकासको मार्गमा अघि बढ्छ’ : डा.बाबुराम भट्टराई - Chaitanya News
  • 2026-04-17
  • 06:11:56
  • शुक्रबार,बैशाख ०४, २०८३
  • वाको नेतृत्वमा नेपाल द्रुत विकासको मार्गमा अघि बढ्छ’ : डा.बाबुराम भट्टराई

    वाको नेतृत्वमा नेपाल द्रुत विकासको मार्गमा अघि बढ्छ’ : डा.बाबुराम भट्टराई

    काठमाडौँ– पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवाको नेतृत्वमा नेपाल द्रुत विकासको मार्गमा अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।

    भारतको नयाँ दिल्लीमा आयोजित एनएक्स्टटी सम्मेलन अन्तर्गत प्रधानमन्त्रीहरूको गोलमेच सत्रमा बोल्दै उनले यस्तो बताएका हुन् । यस्तै भट्टराईले नयाँ राजनीतिक परिवर्तनसँगै नेपालले विकासको पिँधमा नरहँदै विश्वसँग समक्रममा अघि बढ्ने सम्भावना रहेको बताए।

    उनले नेपाललाई अब भारत र चीनबीच सीमित अर्थतन्त्रको प्रभावमा नबाँधिने देश बनाउँदै दुई ठूला छिमेकीको बीचमा जीवन्त पुलको रूपमा अगाडि बढाउन सकिने उल्लेख गरे। बदलिँदो भूराजनीति र प्रविधिको विकाससँगै नेपालले आफ्नो परराष्ट्र नीतिलाई परिमार्जन गरी दुवै छिमेकीबाट लाभ लिनुपर्नेमा उनले जोड दिए।

    स्विडेनका पूर्व प्रधानमन्त्री फ्रेडरिक रेनफेल्ड र अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री स्कट मौरिसन सँगै एउटै मञ्चमा भट्टराईले नेपालको युवा जागरण र राजनीतिक परिवर्तनप्रति गर्व व्यक्त गरे।

    सत्रमा डा। भट्टराईले चौथो औद्योगिक क्रान्ति, कृत्रिम बौद्धिकता र प्रविधिको तीव्र विकासले राजनीतिक अवधारणाहरूलाई पुनस्परिभाषित गर्न आवश्यक रहेको औँल्याए। उनले पारम्परिक लोकतान्त्रिक भाष्यहरू २१औँ शताब्दीका चुनौतीहरूको सामना गर्न पर्याप्त नभएको बताए।

    भट्टराईले भारतले पछिल्ला दशकहरूमा प्रविधि र विकासमा हासिल गरेको प्रगतिप्रति प्रशंसा व्यक्त गर्दै दक्षिण एसियाको गरिबी निवारण र क्षेत्रीय रूपान्तरणमा नेतृत्व लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लाई आग्रह गरे।

    भारतका प्रधानमन्त्री मोदीको ‘वसुधैव कुटुम्बकम्’ को धारणा उद्धृत गर्दै उनले भने, “प्रविधि र सूचना प्रवाहले विश्वलाई साँघुरो बनाएको छ। अब राष्ट्रको सीमाभन्दा माथि उठेर विश्व राजनीति र अर्थतन्त्रलाई पुनर्संरचना गर्ने समय आएको छ, र यसमा भारतले नेतृत्व लिनुपर्छ।”

    उक्त सत्रमा विश्वको बदलिँदो शक्ति सन्तुलन, इन्डो–प्यासिफिक क्षेत्रको महत्त्व, तथा प्रविधिबाट उत्पन्न अवसर र चुनौतीहरूबारे तीनै जना पूर्वप्रधानमन्त्रीहरूले व्यापक मन्थन गरेका थिए।