काठमाडौं–स्थानीयवासीले विभिन्न माग राख्दै तोडफोड गरेपछि निर्माणाधीन चेपे ‘ए’ हाइड्रोपावरको आयोजनास्थलमा करोडौंका क्षति भएको छ। स्थानीले विभिन्न माग राख्दै मंसिर २४ गते आयोजनास्थलमा तोडफोड र आगजनी गर्दा ३० करोड रुपैयाँभन्दा बढीको क्षति भएको हो।
गोरखाको सिरान्चोक गाउँपालिका र लमजुङको दुधपोखरी गाउँपालिका सिमानामा निर्माणाधीन आयोजनास्थलमा स्थानीयले विभिन्न माग राखेर अवरोध गर्दै आइरहेका छन्। ७ मेगावाट क्षमताको जलविद्युत परियोजना चम्पावती हाइड्रोपावर लिमिटेडले विगत २ वर्षदेखि निर्माण सुरू गरेको थियो। नदीको प्रवाहमा आधारित आयोजनाको बाँध खुल्ला बहाव अर्थात फ्रि फूलो वियरको रूपमा निर्माण हुन लागेको हो।
यस आयोजनाको हेर्डवक्र्सका संरचना कुयँलेमा र विद्युतगृह गोरखा जिल्लाको सिरानचोक गाउँपालिका २ कुविन्डे यमस्मा निर्माण हुँदैछ। विद्युत् ऐन २०४९ बमोजिम इजाजत प्राप्त ‘चेपे’ ए जलविद्युत आयोजनाको भौतिक प्रगति करिब ६५ प्रतिशत छ भने झण्डै ९० करोड बराबरको लगानी भइसकेको छ। आयोजनाले विद्युत् उत्पादन मिति २०८० साउन ३ गतेभित्र निर्माण सकेर परीक्षण उत्पादन गर्ने योजना कम्पनीको छ।
निर्माण कार्य भइरहेको बेला राइनास सिँचाइ योजना जल उपभोक्ता समिति र राइनास नगरपालिका समेतले आयोजनामा तोडफोड तथा आगजनी गरेको छ। स्थानीयले सिँचाइको विषयमा जानकारी राख्दा कम्पनी र विद्युत् विकास विभागले विद्युत् गृहबाट निस्कने पानी नहरको मुहानमा जान प्राविधिक रूपमा समस्या नभएको जानकारी दिएको थियो। तर, उक्त जानकारीलाई विश्वास नगर्दै गत मंसिर २४ गते राइनास सिँचाइ योजना जल उपभोक्ता समिति र राइनास नगरपालिकाका जनप्रतिनिधिहरू समेतको संलग्नतामा आयोजनाको विद्युत् गृह निर्माण स्थल र तोडफोड र आगजनी गरेको हाइड्रोपावरले जनाएको छ।
उपभोक्ता समितिले पटक–पटक आयोजनाको काम रोक्न धम्की दिएपछि कम्पनीले सुरक्षा निकायलाई जानकारी गराएको थियो। तर, तोडफोड र आगजनीमा जनप्रतिनिधिहरू स्वयंले अगुवाइ गरेको कम्पनीका कार्यसमिति सञ्चालक लक्ष्मण अर्यालले जानकारी दिए। उनले भने, ‘स्थानीय रूपमा क्रियाशील राजनीतिक पार्टीको नेतृत्वमा रहेकाहरू नै संलग्न थिए भन्ने कुरा प्रहरी प्रशासनलाई पनि राम्रोसँग थाहा छ।’ सामाजिक सञ्जालहरूमा भेटिने आगजनीका फोटो तथा भिडियो, विभिन्न सञ्चारमाध्यममा दिइएका अन्र्तवार्ताहरुलाई हेर्दा पनि सो कुरा स्पष्ट हुने उनको भनाइ छ।
यस आयोजनाको हकमा स्वीकृत वातावरणीय प्रतिवेदनमा पावर हाउस क्षेत्र भनेर तोकिएको स्थान (टोपोम्यापमा उल्लेख गरिएको क्षेत्रमा) नै पावरहाउस अन्तर्गतका संरचना निर्माण भइरहेको छ। अर्कोतर्फ आगजनी गर्ने पक्षले उचालेको विषय नहरको इन्टेकभन्दा २०० मिटर तल पानी खसाल्न लागेको स्थानीयको आरोप छ। ‘यसमा कुनै सत्यता छैन, आयोजनाको विद्युत् गृहबाट निस्कने पानी नहरको इन्टेकभन्दा माथि चिल्ली खोला र चेपे खोलाको दोभानभन्दा माथि फाल्ने भनेर वातावरणीय प्रतिवेदनमा उल्लेख भए अनुसार नै अहिलेको डिजाइनमा विद्युत् गृहको टेलरेसबाट पानी जान्छ,’ अर्यालले भने।
केही व्यक्तिहरूले निर्माणाधीन आयोजनाको बारेमा मिथ्या सूचना दिएको कम्पनीले बताएको छ। तोडफोड र आगजनीको अगुवाइ गर्ने व्यक्तिहरूलाई आयोजनाले विद्युत् गृहबाट निस्कने पानी नहरको मुहानभन्दा माथि चिल्ली खोला र चेपेखोलाको दोभानभन्दा माथि फाल्ने कुरा पटक–पटक जानकारी गराएको थियो। त्यति हुँदा पनि घटना घटाइनु र संवादका माध्यमबाट समस्या समाधानका लागि पहल गर्दा सहमतिमा नआउनु दुःखद पक्ष भएको कम्पनीले जनाएको छ।
तोडफोड र आगजनीबाट ठेकेदार कम्पनी र आयोजनाको गरी करिब ३ करोड ४० लाख जतिको प्रत्यक्ष÷अप्रत्यक्ष क्षति भएको बताइएको छ। यस्तै, उत्पादनमा हुने ढिलाइका कारण आम्दानीमा पर्ने प्रभावले गर्दा झण्डै थप ३० करोड क्षति हुने अनुमान छ। आयोजना निर्माण सम्पन्न गर्नका लागि थप लगानी गर्नुपर्ने स्थिति सिर्जना भएको छ। आयोजना प्रवर्द्धक कम्पनीका तर्फबाट आगजनी र तोडफोडमा संलग्नहरूमाथि कारबाही र आगजनीबाट भएको क्षतिपूर्तिको लागि कम्पनीले माग गरेको छ।
स्थानीयवासीले सिँचाइकोस्थानीयवासी विषयलाई लिएर आयोजनास्थलमा अवरोध गर्दा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई समेत जानकारी थियो। तर, गुरुङले हाइड्रोपावर र स्थानीयवासीबीचको विवादलाई समाधान गर्न कुनै पनि पहल नगरेको स्थानीयवासी बताउँछन्। उनले भने, ‘गुरुङले पहल गरेको भए आयोजना र स्थानीयबीचको विवादले योरूप लिँदैनथ्यो। उनले थप पहल नगर्दा तोडफोड र आगजनी भएको छ। यसबाट करोडौं क्षति भएको छ।’