अत्यन्तै जरुरी ठानेर सोविता गौतमलाई चितवन–३ बाट उम्मेदवार बनायौं: रवि लामिछाने - Chaitanya News
  • 2026-04-27
  • 05:11:41
  • आइतबार,बैशाख १३, २०८३
  • अत्यन्तै जरुरी ठानेर सोविता गौतमलाई चितवन–३ बाट उम्मेदवार बनायौं: रवि लामिछाने

    अत्यन्तै जरुरी ठानेर सोविता गौतमलाई चितवन–३ बाट उम्मेदवार बनायौं: रवि लामिछाने

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीले अत्यन्तै जरुरी ठानेर सोविता गौतमलाई चितवन–३ बाट उम्मेदवार बनाएको बताएका छन् ।

    आज (मंगलबार) चितवन–३ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले चितवनबाट भएको क्रान्तिलाई निर्णयमा बदल्नका लागि सोवितालाई उम्मेदवार बनाएको बताए । उक्त निर्णय सिंगो पार्टीको नै रहेको लामिछानेले बताए।

    ‘चितवन त्यस्तो ठाउँ जहाँबाट रगतको थोपो नबगी क्रान्तिको बिगुल फुक्यो । सोविता चितवनमा आउनका लागि ठूलो कारण छ । किनकी चितवनमा क्रान्ति छ,’ लामिछानेले भने, ‘त्यो क्रान्तिलाई निर्णयमा बदल्न सोविता चितवन आउन जरुरी थियो । सोवितालाई चितवनमा ल्याउने निर्णय सिंगो रास्वपाको हो।’

    सोविता एउटा नाममात्रै नभइ अहिलेको पुस्तालाई प्रेरणा दिने साहसी महिला भएको रविको भनाइ छ।

    ‘सोविता गौतम एउटा नाममात्रै होइन, यो पुस्तालाई प्रेरणा दिने साहसी महिला हो । सोवितालाई यहाँबाट उठाउनुपर्‍यो भन्ने ठाउँको कमी थिएन,’ उनले भने, ‘सोविता सिंगो देशको छोरी भइन् त्यसकारण हामीले चितवन ल्यायौं। किनकी चितवनबाट एउटा सन्देश दिनुपर्ने थियो।’

    साथै, सम्बोधनको क्रममा लामिछानेले यसपटक मत बदल्ने बेला आएको पनि बताए।

    ‘यसपटक परिणाममा बदल्ने बेला आएको छ। जसरी अन्यायमा पर्दा तपाईंहरूले न्याय दिएर हुर्काउनुभयो। मेरो के नाता थियो र तपाईंहरूसँग,’ उनले भने, ‘आशिर्वाद दिनका लागि घरमा छोराछोरी नातीनातीना सबै थिए। तर यो छोरालाई जुन माया दिनुभयो। म कालकोठरीमा पर्दा आँशु बगाउनुभयो । अन्याय पर्‍यो भन्दा हस्ताक्षर गरिदिनुभयो। म ऋणि छु। कसरी तिर्छु थाहा छैन। म सँग बाँकी केही छैन, सत्य छ इमान छ। त्यसैको बलमा एकसे एक साथीहरूलाई संसद् लिएर जानेछु।’

    यसपटक देश र जनताले जित्ने उनको भनाइ छ।