विदेश होइन गाउँ रोजे: सिँचाइ पोखरी बनेपछि किसान व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित - Chaitanya News
  • 2026-04-26
  • 14:45:54
  • आइतबार,बैशाख १३, २०८३
  • विदेश होइन गाउँ रोजे: सिँचाइ पोखरी बनेपछि किसान व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित

    विदेश होइन  गाउँ रोजे: सिँचाइ पोखरी बनेपछि किसान व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित

    भोजपुर– पौवादुङमा गाउँपालिका–१, श्यामशिला चाँपेका स्थानीय किसान भरतबहादुर कार्कीले करिब तीन रोपनीमा व्यावसायिक तरकारी खेती सुरु गरेका छन् । कार्काी मात्रै होइन् सिँचाइ सुविधा विस्तार भएपछि यहाँको धेरै किसानहरु व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन्।

    भरतबहादुरका अनु्सार, करिब तीन रोपनीमा बन्दाकोभी, काउली, मटरकोसा, लसुन, मूला, धनियाँ, आलु, तोरीलगायत विभिन्न नगदेबाली उत्पादन गर्दै आएका छन्।

    उनि भन्छन् मान्छेहरु अहिले बिदेश, बिदेश भन्छन् तर मैले आफ्नै गाउँमा तरकारी खेति रहेर पनि राम्रो कमाई गरिरहेको छु । “टोलमा सिँचाइ सुविधा विस्तार भएपछि खेती गर्न सहज भएको छ”, किसान कार्कीले भने, “विगतमा पानीको अभावले समस्या थियो। अहिले पोखरी निर्माणपछि तरकारी खेतीमा सक्रिय भएका छौँ।”

    पहिले त सबै खर्च आफैले जोहो गर्नु पथ्र्यो, तर अहिले गाउँपालिकाले सञ्चालन गरेको प्राविधिक सेवा तथा विभिन्न अनुदान कार्यक्रमले व्यावसायिक तरकारी खेतीलाई थप प्रोत्साहन मिलेको छ कार्कीको भने। । कार्काी भन्छन् सिँचाइ पोखरी निर्माण गरेर पानी वितरण गरिएपछि किसानले वर्षौँदेखि भोग्दै आएको सिँचाइ समस्या समाधान भएको छ। हाल टोलमा तीनवटा ठूला सिँचाइ पोखरीमार्फत पानी वितरण भइरहेको छ।

    पौवादुङमा –१ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र राईका अनुसार प्रदेश सरकारबाट क्रमागत रूपमा प्राप्त रु ३० लाख बजेटबाट तीनवटा पोखरी निर्माण गरी सिँचाइ सुविधा विस्तार गरिएको हो। “यस क्षेत्रमा सिँचाइ अभावले किसानलाई समस्या थियो”, उनले भने, “तरकारीलगायत कृषि उत्पादनका लागि यो क्षेत्र उपयुक्त भएकाले अब किसानले सहज रूपमा खेती गर्न सक्ने अवस्था बनेको छ।”

    सिँचाइ सुविधा विस्तारसँगै स्थानीय किसान व्यावसायिक रूपमा नगदेबाली खेतीमा जोडिन थालेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताइन। उनका अनुसार सिँचाइ विस्तारपछि किसानले कृषि कर्ममार्फत आयआर्जन गर्न सक्ने वातावरण बनेको छ । सडक सञ्जालको राम्रो पहुँच रहेकाले यहाँ उत्पादित तरकारी बिक्रीमा पनि सहजता भएको उनको भनाइ छ।

    गाउँपालिका अध्यक्ष किरण राईले गाउँपालिकाभित्रका कृषियोग्य क्षेत्रमा सिँचाइ सुविधा विस्तारलाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिए। किसानलाई व्यावसायिक बन्न प्रोत्साहन गर्ने उद्देश्यले आवश्यक अनुदान तथा प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ।

    अध्यक्ष राईका अनुसार कृषि उत्पादनबाट आत्मनिर्भर बनाउने लक्ष्यसहित ‘एक घर, एक टनेल’ कार्यक्रमसँगै सिँचाइ पोखरी निर्माणलाई अघि बढाइएको छ । गाउँपालिकामा भूगोल र माटो सुहाउँदो जैविक खेतीमा जोड दिँदै उत्पादित कृषि उपजको सहज बजारीकरणका लागि गाउँपालिकाले कृषि एम्बुलेन्स सेवासमेत सञ्चालनमा ल्याएको छ ।