सुस्त अर्थतन्त्रकै बीच बैंकहरूको नाफामा दोहोरो अंकको वृद्धि - Chaitanya News
  • 2026-04-26
  • 17:18:35
  • आइतबार,बैशाख १३, २०८३
  • सुस्त अर्थतन्त्रकै बीच बैंकहरूको नाफामा दोहोरो अंकको वृद्धि

    सुस्त अर्थतन्त्रकै बीच बैंकहरूको नाफामा दोहोरो अंकको वृद्धि

    काठमाडौँ– मुलुकको अर्थतन्त्र सुस्त गतिमा रहे पनि वाणिज्य बैंकहरूले भने चालू आर्थिक वर्ष २०८२–८३ को दोस्रो त्रैमासिकसम्म आइपुग्दा आफ्नो नाफा उल्लेख्य रूपमा बढाएका छन्। सार्वजनिक वित्तीय विवरणअनुसार बैंकहरूको कुल खुद नाफा अघिल्लो वर्षको तुलनामा ११.५१ प्रतिशतले वृद्धि भएको छ।

    यो अवधिमा २० वाणिज्य बैंकले संयुक्त रूपमा ३० अर्ब ५९ करोड ३९ लाख रुपैयाँ नाफा कमाएका छन्। गत आर्थिक वर्ष २०८१–८२ को यही अवधिमा बैंकहरूको कुल नाफा २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ रहेको थियो।

    खराब कर्जा बढ्दै जानु, कर्जा प्रवाहमा आएको संकुचन र समग्र आर्थिक गतिविधिमा देखिएको सुस्तताका बाबजुद पनि बैंकहरूले नाफामा वृद्धि कायम राख्नु उल्लेखनीय मानिएको छ। सार्वजनिक तथ्यांकअनुसार २० मध्ये ११ बैंकले नाफा बढाएका छन् भने ८ बैंकको नाफा घटेको छ। एक बैंक भने यस अवधिमा नोक्सानमा गएको छ।

    नाफामा नबिलको दबदबा:
    खुद नाफाको आधारमा नबिल बैंक अग्रस्थानमा देखिएको छ। पुस मसान्तसम्म बैंकले ४ अर्ब ७५ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ४६।७१ प्रतिशतले बढी हो।

    हालै मात्र नयाँ नेतृत्व पाएको नबिल बैंकले पहिलो वित्तीय प्रतिवेदनमै उत्साहजनक नतिजा प्रस्तुत गरेको हो। बैंकको ४१औँ साधारणसभाबाट निर्वाण चौधरी अध्यक्षमा चयन भएका छन् भने पूर्व सीईओ अनिलकेशरी शाह सञ्चालकको रूपमा फर्किएका छन्।

    ग्लोबल आइएमईको स्थिर प्रदर्शन:
    नाफाको सूचीमा दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ। बैंकले ३ अर्ब २५ करोड २१ लाख रुपैयाँ नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ६.५० प्रतिशतले बढी हो। मर्जरपछि बनेको ठूलो संरचनालाई व्यवस्थापन गर्दै नाफामा निरन्तरता दिनु यस बैंकको मुख्य उपलब्धि मानिएको छ।

    कुमारी बैंकको ‘कमब्याक’:
    यस वर्ष सबैभन्दा धेरै प्रतिशतले नाफा बढाउने बैंकको सूचीमा कुमारी बैंक अग्रस्थानमा छ। गत वर्ष पुससम्म मात्र २७ करोड ५७ लाख रुपैयाँ नाफा गरेको बैंकले यस वर्ष ८८६.५० प्रतिशतको छलाङ मार्दै नाफा २ अर्ब ७२ करोड रुपैयाँ पुर्‍याएको छ।

    खराब कर्जाको वृद्धि रोकिएसँगै इम्पेरिमेन्ट चार्ज घट्नु नै कुमारी बैंकको नाफा वृद्धिको मुख्य कारण देखिएको छ। यही सुधारका कारण बैंक कुल
    नाफाको आधारमा तेस्रो स्थानमा उक्लिएको छ।

    सरकारी बैंकको बलियो उपस्थिति:
    सरकारी स्वामित्वका बैंकहरूले पनि यस अवधिमा उल्लेखनीय सुधार देखाएका छन्। नेपाल बैंकले १८३.०४ प्रतिशतले नाफा बढाउँदा राष्ट्रिय वाणिज्य बैंकको नाफा १३२.०४ प्रतिशतले वृद्धि भएको छ।

    पुराना खराब कर्जा उठाउन सफल हुनु र सञ्चालन खर्चमा गरिएको कटौतीले यी बैंकहरूको नाफामा सकारात्मक प्रभाव पारेको देखिन्छ।

    यसैगरी सिद्धार्थ बैंकले १५० प्रतिशत नाफा वृद्धि गर्दै १ अर्ब ३२ करोड रुपैयाँ नाफा कमाएको छ। माछापुच्छ्रे बैंकको नाफा २५.२५ प्रतिशत, सानिमा बैंकको १६.६७ प्रतिशत, नेपाल एसबीआई बैंकको १४.५६ प्रतिशत, प्राइम कमर्सियल बैंकको ९.२७ प्रतिशत र एभरेस्ट बैंकको २.०४ प्रतिशतले बढेको छ।

    आठ बैंकको नाफा घट्दा लक्ष्मी सनराइज नोक्सानमा:
    यस अवधिमा ८ वाणिज्य बैंकको खुद नाफा भने घटेको छ। सिटिजन्स बैंक इन्टरनेशनलको नाफा ४५.७८ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४३.०५ प्रतिशत र प्रभु बैंकको २४.०८ प्रतिशतले घटेको छ। ती बैंकहरूले थप प्रोभिजनिङ गर्नुपर्दा नाफामा दबाब परेको देखिन्छ।

    त्यस्तै कृषि विकास बैंकको नाफा २६.१२ प्रतिशत, एनएमबि बैंकको १७.१७ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकको १६.२९ प्रतिशत, हिमालयन बैंकको १४.८९ प्रतिशत र एनआईसी एशिया बैंकको १३.५४ प्रतिशतले घटेको छ।

    लक्ष्मी सनराइज बैंक भने यस अवधिमा नोक्सानमा गएको छ। गत वर्ष १ अर्ब १६ करोड रुपैयाँ नाफामा रहेको बैंक चालू आवको छ महिनामा २७ करोड ३६ लाख रुपैयाँ नोक्सानमा पुगेको हो। इम्पेरिमेन्ट चार्जबापत ४ अर्ब ४७ करोड रुपैयाँ छुट्याउनुपर्दा बैंक घाटामा गएको देखिन्छ।

    चुनौती कायमै, दबाब अझै बाँकी:
    बैंकहरूको समग्र नाफा बढे पनि समस्याहरू पूर्ण रूपमा समाधान भइसकेका छैनन्। अर्थतन्त्रको शिथिलताका कारण ऋणीहरूले समयमै सावाँ–ब्याज तिर्न नसक्दा निष्क्रिय कर्जा अझै चुनौतीकै रूपमा देखिएको छ। यसको प्रत्यक्ष असर प्रोभिजनिङ खर्चमा परेको छ। तरलता प्रशस्त भए पनि नयाँ लगानीयोग्य क्षेत्रको अभावका कारण कर्जा प्रवाह सुस्त छ। साथै राष्ट्र बैंकको कसिलो मौद्रिक नीतिका कारण स्प्रेड दर घट्दै जाँदा बैंकहरूको आम्दानीको मुख्य स्रोतमा दबाब बढिरहेको छ।