काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवबीच भेटघाट भएको छ। खनाल निवास डल्लुमा शुक्रबार दुई नेताबीच मिलेर जाने विषयमा छलफल भएको बताएको छ।
यसअघि समेत एउटै गठबन्धनमा भएकाले अबपनि सँगसँगै मिलेर जाने विषयमा छलफल भएको खनालले बताए । देश एकदमै संगिन अवस्थामा छ। राष्ट्रियतादेखि आर्थिक रूपमा जजर अवस्थामा छ। व्यापार घाटा चुलिँदो अवस्थामा छ। युवाहरू दिनप्रतिदिन विदेश पलायन भइरहेका छन्। यस्तो अवस्थामा देशभक्त कम्युनिस्ट शक्तिहरुबीच एकता र सहकार्य गर्नुपर्छ भन्ने विषयमा छलफल भयो’ खनालले भने,‘कम्युनिस्टहरूले आफूलाई देश भक्त ठान्छन् भने अरू राष्ट्रवादीहरूलाई समेत समेटेर एकताबद्ध बनाउनुपर्छ। मुलुकका यावत समस्याका विषयमा मिलेर सहकार्य गर्नुपर्छ भन्ने विषयमा छलफल भयो।’
प्रचण्ड नेतृत्वको सरकारमा एकीकृत समाजवादी र जसपा सहभागी नभएकाले एउटा समझदारी बनाएर जाने विषयमा खनाल र यादवबीच छलफल भएको बताएको छ। जसपाले प्रचण्डलाई समर्थन गरेपनि सरकारमा सहभागी भएको छैन। एकीकृत समाजवादीले समर्थन गर्ने वा नगर्ने विषयमा अन्यौलमै छ। जसपा १२ सांसद र एकीकृत समाजवादीका १० जना मात्रै सांसद छन्।