काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसका राष्ट्रियसभाकी सांसद दुर्गाकुमारी गुरुङले खेलाडीहरुलाई पनि पेन्सन दिने व्यवस्था मिलाउन गर्न सरकारसँग माग गरेकी छन।
सोमबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद गुरुङले उमेर हदको व्यवस्था गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सम्मान पाएका खेलाडीहरुलाई शिक्षक, कर्मचारीहरुलाई जस्तै पेन्सन दिने व्यवस्था गर्न सरकारसँग माग गरेकी छन।
उनले सबै उमेर समूहका नागरिकका लागि खेल खेल्ने आवश्यक व्यवस्था मिलाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराइन।
खेलकुद क्षेत्रको विकासले मुलुकको विकास र समृद्धि समेत हुने तथा नागरिकहरु पनि स्वस्थ हुने भएकाले त्यस क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो।
सांसद गुरुङले युवाहरुलाई सही बाटोमा ल्याउन पनि खेलकुद क्षेत्रमा उनीहरुको सहभागिता गराउन सरकारले ध्यान दिनुपर्ने आवश्यक रहेको औंल्याइन।
युवाहरुलाई परिचालन गरी देशको विकास गर्नुपर्ने आवश्यकता भए पनि सरकारले सोही अनुसारको नीति, कार्यक्रम र बजेट ल्याउन नसकेको गुनासो समेत उनले गरिन।