विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन - Chaitanya News
  • 2026-06-05
  • 01:31:51
  • बिहिबार,जेठ २१, २०८३
  • विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन

    विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं – विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न अर्थमन्त्रीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन् । ।

    प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री विष्णु पौडेललाई विदेशबाट फर्किएका नेपालीहरूले ल्याउने मोबाइल नरोक्न निर्देशन दिएका हुन् ।

    नेपाल दूरसञ्चार प्राधिकरणले पुस १५ गते शुक्रबारदेखि पूर्णरुपमा एमडीएमएस प्रणाली लागू गर्ने योजना बनाएको थियो ।

    विदेशबाट एकथान मोबाइल ल्याउँदा पनि सरकारले १८ प्रतिशत कर लिन लागेको भन्दै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले व्यापक विरोध गरेका थिए ।

    उनीहरुले रेमिट्यान्सबाट पैसा पठाउन रोक्ने भन्दै सामाजिक सन्जालमा ‘नो रेमिट्यान्स’ अभियान चलाएका छन् ।

    विदेशमा काम गरेर फर्किएकाहरुले उपहारका रुपमा आफ्ना परिवारका सदस्यका लागि नेपाल ल्याएका मोबाइलको पनि कर र भन्सार महसुल तिर्नैपर्ने गरी एमडीएमएस प्रणाली सुरु हुन लागेपछि यसको व्यापक विरोध भएको थियो ।

    जनस्तरबाट व्यापक विरोध र विदेशबाट नो रेमिटेन्सको ह्यासट्याग अभियान नै सुरु भएपछि प्रधानमन्त्री दाहालले तत्कालका लागि एमडीएमएस प्रणाली लागू नगर्न प्राधिकरणलाई निर्देशन दिएका हुन् ।

    प्रधानमन्त्री कार्यालयबाट निर्देशन आएलगत्तै प्राधिकरणले तत्कालका लागि एमडीएमएस प्रणाली कार्यान्वयन रोक लगाएको छ ।

    विदेशमा मजदुरी गरेर फर्किएकाहरुबाट किनेको मूल्य वा भन्सार विन्दुमा कायम गरिएको मूल्यमा १८ प्रतिशतसम्मको कर लिने गरी भन्सारबाट प्रज्ञापनपत्र लिनैपर्ने व्यवस्था गरेपछि यसको चर्को विरोध भएको थियो । बिरोधलगत्तै सरकार आफ्नो निर्णयबाट पछाडि हटेको हो ।