युवा वैज्ञानिक प्रकाश गैरे 'चैतन्य उत्कृष्ट युवा वैज्ञानिक सम्मान'बाट सम्मानित - Chaitanya News
  • 2026-04-27
  • 16:01:27
  • सोमबार,बैशाख १४, २०८३
  • युवा वैज्ञानिक प्रकाश गैरे ‘चैतन्य उत्कृष्ट युवा वैज्ञानिक सम्मान’बाट सम्मानित

    युवा वैज्ञानिक प्रकाश गैरे ‘चैतन्य उत्कृष्ट युवा वैज्ञानिक सम्मान’बाट सम्मानित

    धनगढी– चैतन्य पाठशालामा आयोजित ’चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२’ को समापनका अवसरमा पुनर्वास, कञ्चनपुरका युवा वैज्ञानिक प्रकाश गैरेलाई “चैतन्य उत्कृष्ट युवा वैज्ञानिक सम्मान” प्रदान गरिएको छ। विज्ञान, अनुसन्धान तथा नवप्रवर्तनको क्षेत्रमा सृजनशील सोच र प्रयोगात्मक कार्यमार्फत वैज्ञानिक चेतना विस्तारमा उल्लेखनीय योगदान पु¥याएको कदर स्वरूप उनलाई उक्त सम्मान प्रदान गरिएको हो।

    महोत्सवको आठौँ  तथा समापन समारोहका दिन आज प्रमुख अतिथि रहनुभएका साहित्यकार तथा सञ्चारकर्मी डा।नवराज लम्साल,, विशिष्ट अतिथि एन.आर.एन.ए. सद्भावना दूत ओजस्वी आचार्य, चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझा, र पाठशालाका अध्यक्ष तथा हार्दिक नेपालका संयोजक गणेश प्रसाद जोशीले संयुक्त रूपमा गैरेलाई सम्मान पत्र र मायाको चिनोसहित सम्मान गरेका हुन्।

    सुदूरपश्चिममै रहेर युवा वैज्ञानिकका रूपमा अनुसन्धान, नव प्रवर्तनात्मक सोच र वैज्ञानिक दृष्टिकोणमार्फत समाज तथा भावी पुस्तामा विज्ञानप्रतिको रुचि, जिज्ञासा र चेतनाको विकासमा अतुलनीय योगदान पु¥याएबापत उनलाई सम्मान गरिएको पाठशालाले जनाएको छ ।

    सम्मान ग्रहण गर्दै युवा वैज्ञानिक गैरेले चैतन्य पाठशालाबाट प्राप्त यो सम्मानले आफूलाई अनुसन्धान र नवप्रवर्तनको क्षेत्रमा थप जिम्मेवारी बोध गराएको बताए। उनले वैज्ञानिक सोच र समर्पणले नै समाजलाई प्रगति पथमा लैजाने बताउँदै आगामी दिनमा पनि वैज्ञानिक खोज र प्रविधि विकासमा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे। उनले युवा पुस्तालाई विज्ञान र प्रविधिमा जोड्नु आजको आवश्यकता रहेकोमा जोड दिए ।

    शिक्षा र विज्ञानको क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तित्वहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले महोत्सवमा यस्ता सम्मानहरू समावेश गरिएको पाठशालाका प्राचार्य प्रेमनिधि ओझाले बताए । उनले प्रकाश गैरे जस्ता ऊर्जावान् वैज्ञानिकको सम्मानले समाजमा सकारात्मक सन्देश जाने र भावी पुस्तामा वैज्ञानिक सोच विकास हुने विश्वास व्यक्त गरे ।

    ’चैतन्य दोस्रो विद्यार्थी महोत्सव’ अन्तर्गत शैक्षिक, साहित्यिक, सांस्कृतिक, खेलकुद तथा वैज्ञानिक गतिविधिसँगै विभिन्न क्षेत्रका प्रेरक व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्यक्रमहरू सञ्चालन गरिएका थिए। विद्यार्थीको सर्वाङ्गीण विकास, राष्ट्रिय चेतना र नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजित यो महोत्सव आज भव्य रूपमा समापन गरिएको आयोजकले जनाएको छ।