काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टी बनाउने आँट अझै कायमै रहेको भन्दै निराश नहुन पार्टी पंक्तिलाई आग्रह गरेका छन्।
जनवर्गीय संगठन र प्रवास कमिटीका नेताहरुसँग आज जुम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले धेरै साथीहरु पार्टीमा जोडिने कुरा आएको बताए।
उनले घनश्याम भुसाल नेकपा एसमा समाहित हुन तयार रहेको र भीम रावलले भोलि बसौं भनेको भन्दै वामदेव गौतम पनि सकारात्मक रहेको बताए। नेता नेपालले एमाले अध्यक्ष केपी ओलीसँग संवाद हुने संकेत पनि गरेका छन्। उनले प्रचण्ड सरकारलाई विश्वासको मत दिने बताए।
नेपालले भने– साथीहरुले महाधिवेशन हुनुपर्छ पनि भन्नुभएको छ। हामी तयारी गर्ने छौँ। पार्टी बनाउने छौँ । साथीहरु पार्टीमा जोडिने कुराहरु आएका छन्। घनश्याम कमरेड तयार हुनुहुन्छ। भीम रावलले भोलि बसौँ भन्नुभएको छ। वामदेव कमरेड तयार हुनुभएको छैन। तर, सकारात्मक हुनुहुन्छ।
सरकारमा जानेबारेमा नेपाल आशावादी देखिएको बैठकमा सहभागी एक नेताले बताए। अहिले माधव नेपाल र झलनाथ खनालले सुझाव लिइरहेका छन्। अधिकांशले पार्टी एकता नै गर्ने भए एमालेसँग गर्नुपर्ने सुझाव दिएका छन्।