काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई राष्ट्रपति पदसँग जोडेर आएका पछिल्ला समाचारमा कुनै सत्यता नरहेको बताएका छन्। बिहीबार पार्टी जनवर्गीय संगठनका प्रतिनिधिसँगको जुम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कांग्रेससँगको गठबन्धन छोडेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेसँगै एमालेले आफूलाई राष्ट्रपति बनाउन खोजेको भनेर चलेका हल्ला र आएका समाचारमा सत्यता नभएको बताएका हुन्।
यद्यपि उनले आफू कम्युनिष्ट एकताको विपक्षमा नरहेको भन्दै त्यसका लागि दुवै पक्ष तयार हुन जरुरी रहेको बताए। ‘अहिले एमालेसँग जोडेर बजारमा माधव नेपाललाई राष्ट्रपति बनाउने हल्ला चलेका छन्। ति बजार हल्लामा कुनै सत्यता छैन’,पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले भने, ‘यो सुनेर के हो? कसो हो? भनेर नेता कार्यकर्तामा जिज्ञासा पैदा भएको छ। तर बजार हल्लाको पछि लाग्नु हुँदैन।’ उनले त्यसका लागि दुवै पक्ष तयार हुन जरुरी रहेको पनि बताए। ‘दुवै पक्ष तयार हुनुपर्छ । अव पुरानै कुरामा अलमलिन पनि ठिक हुँदैन’, उनले सरकारले विश्वासको मत लिएपछि सरकारमा जाने नजानेबारे पार्टीले निर्णय गर्ने पनि बताए।
एमालेसँगको विद्रोहदेखि आम निर्वाचनसम्मका राजनीतिक घटनाक्रमको विश्लेषण सुनाएका अध्यक्ष नेपालले पछिल्लो पटक फेरिएको राजनीतिक समीकरण र कंग्रेसको हातबाट वामपन्थीको हातमा सत्ता आउनु सकारात्मक भएको बताए।
यसबीचमा भएका घटनाक्रमका साथै अहिले मन्त्रिमण्डल विस्तार र शक्ति बाँडफाँटबारे भएका छलफलमा पार्टी सहभागी नभएको नेता नेपालले बताए। ‘मन्त्रिमण्डल विस्तार र मन्त्रालय बाँडफाँटबारे हामीलाई कुनै जानकारी छैन’, नेता नेपालको भनाइ छ। उनले यसबीचमा एमाले उपाध्यक्ष विष्णु पौडेलसँग आफ्नो भेट नभएको भन्दै अन्य एमाले नेता कार्यकर्तासँग भने भेटवार्ता र संवाद भइरहेको बताए।
उनले वाम एकताबारे पहिलेदेखि नै प्रयास भइरहेको र पछिल्लो समय स्वयं राष्ट्रपतिको पनि चिन्ता चासो रहेकाले आफू वाम एकताका लागि सकारात्मक रहेको बताए। ‘हामी नयाँ शिराबाट जान तयार छौ’, अध्यक्ष नेपालको भनाइ छ। फरक प्रशंगमा अध्यक्ष नेपालले केपी ओलीले आफूलाई भेट्न खोज्दा आफूले अस्वीकार गरेको भन्ने कुरामा पनि सत्यता नरहेको बताए। ‘केपी ओली मेरो घरमा आउन खोज्दा मैले अस्वीकार गरेको भनेर पनि कुरा आएको छ। कुरा त्यसो होइन, उहाँ आए म कार्पेट ओच्छ्याएर स्वागत गर्थेँ’, अध्यक्ष नेपालको भनाइ छ।