भान्साको राहतः नयाँ चामल सस्तो, उपभोक्तालाई केही सहजता - Chaitanya News
  • 2026-04-27
  • 21:18:22
  • सोमबार,बैशाख १४, २०८३
  • भान्साको राहतः नयाँ चामल सस्तो, उपभोक्तालाई केही सहजता

    भान्साको राहतः नयाँ चामल सस्तो, उपभोक्तालाई केही सहजता

    काठमाडौँ– पछिल्लो समय महँगीको चापले थलिएको उपभोक्ताको भान्सामा चामलले भने केही राहत दिएको छ । बजारमा अधिकांश खाद्यान्नको मूल्य बढिरहेको अवस्थामा नयाँ चामलको मूल्य उल्लेख्य रूपमा घटेको छ । व्यापारीका अनुसार २५ केजीको बोरा २०० देखि ५०० रुपैयाँसम्म सस्तोमा बिक्री भइरहेको छ ।

    खुद्रा व्यापार संघका सचिव आमुलकाजी तुलाधरका अनुसार धान पाक्ने सिजन सकिएसँगै किसानले धान बिक्री गर्न थालेका छन् । त्यसैको असरस्वरूप बजारमा नयाँ चामलको आपूर्ति बढ्दा मूल्य घटेको हो ।

    “नयाँ चामल बजारमा आइसकेपछि मूल्य घट्नु स्वाभाविक हो,” उनले भने, “पुरानो चामल भने अघिल्लै मूल्यमा बिक्री भइरहेको छ ।”

    अहिले बजारमा नयाँ जिरा मसिनो चामल २५ केजीको बोरा १६ सयदेखि १८ सय रुपैयाँसम्म पाइन्छ । त्यस्तै मोटा चामलको मूल्य पनि घटेको छ । नयाँ सोना मन्सुली चामल २५ केजीको १५ सय ५० रुपैयाँदेखि १६ सय रुपैयाँसम्म बिक्री भइरहेको छ ।

    अघिल्लो वर्षको तुलनामा सस्तो:
    अघिल्लो वर्ष यसै अवधिमा जिरा मसिनो चामलको मूल्य १९ सयदेखि २५ सय रुपैयाँसम्म थियो । सोना मन्सुली चामल पनि १६ सयदेखि १९ सय रुपैयाँसम्म पुगेको थियो । अहिले नयाँ चामलमा आएको गिरावटले उपभोक्तालाई केही राहत दिएको भए पनि पुरानो चामल भने अघिल्लो वर्षकै मूल्यमा कायम रहेको तुलाधर बताउँछन् ।

    स्वदेशी उत्पादन र आयातको दोहोरो प्रभाव:
    मूल्य घट्नुमा स्वदेशी उत्पादनसँगै आयातको भूमिका पनि महत्त्वपूर्ण देखिन्छ । व्यवसायीका अनुसार नेपालमा नयाँ धान भित्रिन थालेको छ भने भारतबाट पनि धान र चामलको आयात उल्लेख्य मात्रामा भइरहेको छ ।
    चामल उद्योगीले अघिल्लो वर्षदेखि नै भारतबाट धान आयात गरी भण्डारण गरेकाले बजारमा पर्याप्त आपूर्ति कायम भएको उनीहरूको भनाइ छ ।

    चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म १५ अर्ब ४३ करोड ८६ लाख रुपैयाँ बराबरको धान–चामल आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यो रकम १२ अर्ब ७९ करोड रुपैयाँ थियो भने आर्थिक वर्ष २०८०र८१ मा ८ अर्ब २८ करोड रुपैयाँ बराबरको आयात भएको थियो ।

    यस अवधिमा ६ अर्ब ८८ करोड रुपैयाँ बराबरको धान, ८ अर्ब ३६ करोड रुपैयाँ बराबरको चामल र १८ करोड ७० लाख रुपैयाँ बराबरको कनिका आयात भएको सरकारी तथ्यांकमा उल्लेख छ ।

    नीतिगत उतारचढावको असर:
    भारतले आर्थिक वर्ष २०८०र८१ मा धान–चामलमा २० प्रतिशत निर्यात शुल्क लगाउँदा र नेपाल सरकारले २।५ प्रतिशत अग्रिम कर लागू गर्दा आयात घटेको थियो । त्यसबेला बजारमा चामलको मूल्य आकासिएको थियो । उपभोक्ताले जिरा मसिनो चामल प्रतिक्विन्टल २५ सयदेखि २८ सय रुपैयाँसम्म तिर्नुपरेको थियो ।

    पछि भारतले निर्यात शुल्क हटाएसँगै आयात बढ्यो र मूल्य पनि क्रमशः घट्दै आएको देखिन्छ ।

    सबै खाद्यान्न सस्तो छ त ?

    चामल सस्तो भए पनि सबै खाद्यान्नको अवस्था उस्तै छैन । बजारमा लङ ग्रेन चामलको मूल्य भने बढेको छ । भारतबाट नै मूल्य बढेर आएको भन्दै व्यवसायीले १०० देखि २०० रुपैयाँसम्म मूल्य बढाएका छन् ।
    दाल र गेडागुडीको मूल्य पनि गत वर्षको तुलनामा सामान्य बढेको छ । चना दाल १५० रुपैयाँबाट १७० पुगेको छ । मुसुरो दाल भने १६५ बाट घटेर १५० रुपैयाँमा झरेको छ ।

    खाने तेलमा भने स्पष्ट वृद्धि देखिन्छ । गत वर्ष ३२५ रुपैयाँ प्रतिलिटर रहेको काँचो तोरीको तेल अहिले ३६० रुपैयाँ पुगेको छ । भुटेको तोरी तेल ४३०, भटमास तेल २४५ र सनफ्लावर तेल २५० रुपैयाँ प्रतिलिटर पुगेको छ ।

    समग्रमा हेर्दा नयाँ चामलको मूल्य घट्नु उपभोक्ताका लागि राहतको खबर भए पनि अन्य खाद्यान्नमा देखिएको वृद्धि चुनौतीकै रूपमा छ । आपूर्ति सहज, उत्पादन र आयात सन्तुलित रहन सके बजारमा चामलजस्तै अन्य खाद्यान्नमा पनि स्थायित्व आउने अपेक्षा उपभोक्ताको छ ।