काठमाडौँ– साताको दोस्रो कारोबार दिन आज (सोमबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३.१३ अङ्कले बढेर २६३३.७६ विन्दुमा पुगेको छ।
बजारमा उत्साह देखिँदा कारोबार रकम सुधार आएको छ। आज बजारमा १ करोड १३ लाख ७५ हजार ४७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९६ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आजको बजारमा कुल १९४ कम्पनीको मूल्य बढेको छ भने ५९ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। ६ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ।
आज सबै उपसूचकहरू हरियाली देखिएका छन्। उत्पादन तथा प्रशोधन ३.०५ प्रतिशत, विकास बैंक २.७० प्रतिशत, होटल तथा पर्यटन २.५३ प्रतिशत तथा जलविद्युत १.४४ प्रतिशतले बढेको छ।
बैंकिङ, बिमा र फाइनान्स उपसूचकहरूमा पनि १ प्रतिशत भन्दा कमको सामान्य सुधार देखिएको छ।
आज बजारमा ६ वटा कम्पनीमा १० प्रतिशत वृद्धिसहित सकारात्मक सर्किट लागेको छ। यी कम्पनीहरूमा सागर डिस्टिलरी, एसवाई प्यानल, श्रीनगर एग्रिटेक, बन्दीपुर केवलकार, रूरू जलविद्युत र बाराही हाइड्रोपावर रहेका छन्।
बजार बढे पनि केही कम्पनीका लगानीकर्ताले भने गुमाएका छन्। स्ट्याण्डर्ड चार्टर्ड बैंक र सापाङ्दीमाई जलविद्युत को सेयर मूल्यमा २.४९ प्रतिशतको गिरावट आएको छ।
कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो। यस कम्पनीको ३५ करोड ५२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ। त्यस्तै, बन्दीपुर केबलकारको २० करोड ४७ लाख र एसवाई प्यानल को १७ करोड ४७ लाख बराबरको सेयर कारोबार भएको छ।