मन्त्रालय भागबन्डाको प्रारम्भिक खाका, कसलाइ कति? - Chaitanya News
  • 2026-05-07
  • 13:21:28
  • बिहिबार,बैशाख २४, २०८३
  • मन्त्रालय भागबन्डाको प्रारम्भिक खाका, कसलाइ कति?

    मन्त्रालय भागबन्डाको प्रारम्भिक खाका, कसलाइ कति?

    काठमाडौं– सत्तारुढ दलहरूले मन्त्रालय भागबन्डाको प्रारम्भिक खाका तयार पारेका छन्।

    प्रारम्भिक खाकाअनुसार नेकपा (एमाले) ले ९ देखि १० मन्त्रालय पाउनेछ। उसले यसअघि गठन भएको मन्त्रिपरिषद्‌मा पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई उपप्रधान तथा अर्थ मन्त्रालय दिएर सरकारमा पठाएको छ भने बिनाविभागीय मन्त्रीको रूपमा राजेन्द्र राई र दामोदर भण्डारीले शपथ ग्रहण गरेका छन्।

    यद्यपि एमाले ११ देखि १२ वटा मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएको छ।

    यस्तै ७ मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएको नेकपा (माओवादी केन्द्र) ले ५ वटा पाउनेछ। एमालेका एक नेताले भने, ‘सरकारको नेतृत्व पनि माओवादी केन्द्रले नै गरेको हुनाले त्यसमा उसले कम्प्रामाइज गर्नुपर्छ।’

    पुस ११ गते गठन भएको मन्त्रिपरिषद्‌मा माओवादी केन्द्रका तर्फबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्रीका रूपमा सरकारमा सहभागी भएका छन्।

    यस्तै प्रारम्भिक खाकाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३ मन्त्री र एक राज्यमन्त्री पाउने छ। उसले उपप्रधानसँगै गृह मन्त्रालय लिइसकेको छ। मन्त्रीका रूपमा पार्टी सभापति रवि लामिछाने सरकारमा सहभागी भएका छन्।

    यस्तै विगतमा एमालेबाट फुटेर बनेको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई पनि सरकारमा ल्याउने प्रयास सुरू भएको छ। माओवादी केन्द्रका एक पदाधिकारीले भने, ‘एकीकृत समाजवादी मानेको खण्डमा २ देखि ३ मन्त्रालय दिएर सरकारमा ल्याउने योजना छ।’

    यस्तै बाहिरै बसेर समर्थन जनाउने निर्णय गरेको जनता समाजवादी पार्टी (जसपा) पनि सरकारमै सामेल गराउने कसरत सुरू भएको छ।

    आजै बिहानमात्रै प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनपाका अध्यक्ष उपेन्द्र यादवलगायतसँग छुट्टाछुट्टे भेटवार्ता गरेका थिए।