साढे दुईघण्टा बिताएर फर्किए ओली, के-के भयो कुराकानी ? - Chaitanya News
  • 2026-05-07
  • 13:11:41
  • बिहिबार,बैशाख २४, २०८३
  • साढे दुईघण्टा बिताएर फर्किए ओली, के-के भयो कुराकानी ?

    साढे दुईघण्टा बिताएर फर्किए ओली, के-के भयो कुराकानी ?

    काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निवासमा करिब साढे दुई घण्टा बिताएर फर्किएका छन् ।

    अत्यन्त तिक्ततापूर्ण सम्बन्ध रहेको भए पनि सरकार गठनसँगै दुई नेताबीचको वार्ता बाक्लिँदै गएको छ ।दाहाललाई भेट्न ओली साढे ११ बजे प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

    उनी पौने दुई बजे बाहिरिएका थिए । बाहिरिने क्रममा संक्षिप्त कुरा गर्दै सरकारलाई बलियो बनाउने विषयमा कुराकानी भएको बताए । प्रचण्डका एकजना स्वकीय सचिव रमेश मल्लले दुई नेताबीच सरकारका नीति तथा कार्यक्रमलाई लिएर छलफल भएको बताएका छन्।

    ओली दुई वर्ष नौ दिनपछि बुधबार ‘प्रचण्ड’को निवास खुमलटार पुगेका हुन् । पहिलोपल्ट प्रतिनिधिसभा विघटनको अघिल्लो साँझपछि ओली खुमलटार गएका थिएनन् ।

    यसअघि, ०७७ पुस ४ गते साँझ तत्कालीन प्रधानमन्त्री ओली आफू अध्यक्ष रहेको तत्कालीन नेकपाका अर्का अध्यक्ष प्रचण्डसँग छलफल गर्न खुमलटार गएका थिए । उक्त भेटमा ओलीले आफूलाई प्रधानमन्त्री र नेकपाको अध्यक्षबाट हटाउन खोजेको बताउँदै आफूविरुद्ध सचिवालयमा दर्ता गरिएको १९ बुँदे आरोपपत्र प्रचण्डले फिर्ता नलिए संसद् विघटन गरेर अघि बढ्ने बताएर फर्किएका थिए ।

    दुई वर्षअघिको उक्त भेटमा ओली प्रधानमन्त्री थिए । बुधबारको भेटमा उनै ओलीको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भइसकेका छन् । यसबीचको दुई वर्षमा नेकपा विघटन भई एमाले र नेकपा (माओवादी केन्द्र) पुनः अस्तित्वमा आइसकेको छ ।

    एमाले र माओवादी केन्द्रले एकार्कालाई सिध्याउने प्रयास गर्दा योपटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा दुवैले पहिलेको आकार गुमाएर प्रत्यक्षतर्फ करिब आधा–आधा सिट मात्र जितेका छन् ।

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चार दिनअघि अकस्मात् ओलीनिवास बालकोट पुगेपछि नेपाली कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन विघटन भई एमाले नेतृत्वको नयाँ गठबन्धनको निर्माण भएको छ । ओलीसहित सात दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएका हुन् ।