काठमाडौं- गत मंसिर ४ मा भएको निर्वाचन परिणाममा पहिलो पार्टी बनेपछि नेपाली कांग्रेसका नेताकार्यकर्ता निकै उत्साहित भएका थिए । अघिल्लो चुनावमा वामगठबन्धनका कारण लज्जास्पद पराजय भोगेको कांग्रेसलाई सिट बढी आउनुले मात्रै होइन, संघ र प्रदेशमा आफ्नो सरकार गठन हुने विषयले पनि उत्साह पैदा गराएको थियो ।
मूलतः देउवा निकट नेताहरु मन्त्री, मुख्यमन्त्री, सभामुख र राष्ट्रपति बन्न पाउने तयारीमा लागेका थिए । तर, सत्तागठबन्धनको साझेदार दल माओवादी केन्द्रले एमाले लगायतका दलसँगको समीकरणमा नयाँ सरकार गठन गरेपछि भने देउवा पार्टीभित्रैबाट घेराबन्दीमा परेका छन् ।
नयाँ सत्ता समीकरणसँगै कांग्रेसले प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश सभाका सभामुख र उपसभामुखलगायतका पद पनि गुमाउँदैछ । मन्त्री, मुख्यमन्त्री र विभिन्न नियुक्तीको आशमा संसदीय दलमा जिताएका सांसदहरु नै उनको आलोचनामा देखिएका छन् । देउवासँग मुख्य प्रतिस्पर्धीको रुपमा रहि आएका रामचन्द्र पौडेलले समेत संसदीय दलमा देउवालाई समर्थन गरेका थिए ।
‘गठबन्धन भत्किँदा हाम्रा सबै कुरा बिग्रिन्छन्, कांग्रेसको बिल्लीबाठ हुन्छ भनेर भनेको हुँ । यो गठबन्धन टुट्नेबित्तिकै सबैभन्दा मार कांग्रेसलाई हुन्छ भनेको हो । यत्रो दुःख गरेर आएको बहुमतलाई असर पर्छ भनेकै हो, तर देउवाजीले अरुकै कुरा सुन्दा सबै बिग्रियो’ वरिष्ठ नेता पौडेलले भने । उनले देउवाभित्र आशक्ति बढी हुँदा गठबन्धन टुटेको बताएका छन् ।
‘हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन रु सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ ? देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजीनामा दिनुपर्छ’ कांग्रेसका नेता गुरुराज घिमिरेले भने । उनले उक्त विषयमा पार्टीभित्र गम्भीर समीक्षा हुनुपर्ने पनि बताएका छन् ।
पौडेल मात्रै होईन, देउवा निकट एक सांसदले त उनले संसदीय दलको नेताबाटै राजीनामा दिनुपर्ने बताएका छन् र्। उहाँले कांग्रेलाई सबै अवशरबाट वञ्चित गराउनुभयो, उहाँले पार्टी सभापति र संसदीय दलबाट विश्राम लिनु नै उचित होला,’ उनले भने । साथै उनले आफूहरुले गठबन्धनमा लचिलो बनौँ भन्दा देउवाले नमानेका आरोप पनि लगाएका छन् ।
प्रचण्डले नयाँ सत्ता समीकरण गरेसँगै कांग्रेसले प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश सभाका सभामुख र उपसभामुख लगायतका पद पनि गुमाउने भएको छ । कांग्रेसलाई चौतर्फी घाटा गराएको भन्दै देउवा पक्षधरले समेत उनको साथ छोड्ने सम्भावना बढ्ँदा देउवामाथि चौतर्फी दवाव बढेको छ ।