जुम्ला– जुम्लामा यस वर्ष ४१ करोड बढीको स्याउ निर्यात भएको छ। कृषि विकास कार्यालयका अनुसार मंसिर तेस्रो सातासम्म ४१ करोड २९ लाख ८९ हजार २७० रुपैयाँको स्याउ निर्यात भएको हो।
कार्यालय प्रमुख रामभक्त अधिकारीका अनुसार मंसिर २२ गते तयार पारिएको स्याउ निर्यातको प्रतिवेदन अनुसार चालु आर्थिक वर्षमा पाँच हजार ५९१ मेट्रिकटन स्याउ निर्यात भएको छ।
यसपटक जुम्लाको स्थानीय स्याउ बगैँचाबाटै प्रतिकेजी ५० देखि ६५ रुपैयाँमा बिक्री भएको छ। केही पालिकाका बगैँचामा ७० रुपैयाँमा पनि बिक्री भएको कार्यालयले जनाएको छ। इटालियन फुजी स्याउ १७५ रुपैयाँभन्दा माथिको मूल्यमा बिक्री भएको छ।
कार्यालयका अनुसार यस वर्ष स्थानीय स्याउ जिल्लाभित्रको खपत परिणाम ४४१५ मेट्रिक टन अर्थात २५ प्रतिशत रहेको छ। नासो, कोशेलीमार्फत समेत १५ प्रतिशत जिल्ला बाहिर गएको छ।
यसैगरी उत्पादन भएको स्याउमा १५ प्रतिशत अर्थात २६४८.८१ मेट्रिकटनको चाना, जुस, जाम, साइडर, ब्राण्डी, माड बनाइएको छ। यता उच्च घनत्वको स्याउ ५८६ मेट्रिकटन उत्पादन भएको छ।
असिनापानीले घट्यो उत्पादन:
असिनापानीका साथै किरा लागेपछि अघिल्लो आर्थिक वर्षको तुलनामा स्याउ उत्पादन घटेको छ। कार्यालयका अनुसार गत वर्ष स्याउ फुल्ने बेलामा आएको भीषण असिनाले यस वर्ष स्याउ घटेको हो।
आर्थिक वर्ष २०८१–०८२ मा २० हजार ५१२ मेट्रिक टन मेट्रिकटन उत्पादन भएकोमा यस वर्ष १८ हजार २४५ मेट्रिक टन उत्पादन भएको छ।
यसैगरी गत आर्थिक वर्षमा ७० करोड १५ लाख ५९ हजार ४०० बराबरको स्याउ निर्यात भएकोमा यस मंसिरसम्म ४० करोडको मात्रै बिक्री भएको छ।
केही स्याउ कोल्ड स्टोरका साथै घरमा पनि राखिएकोले निर्यात र रकम बढ्न सक्ने अनुमान छ।
४४९७ हेक्टरमा स्याउ रोपियो:
जुम्लामा स्याउ रोप्ने क्षेत्रफल भने बढ्दै गइरहेको छ। कृषि विकास कार्यालयको तथ्यांक अनुसार यस वर्ष चार हजार ४९७ हेक्टर क्षेत्रफलमा स्याउ बिरुवा रोपिएको छ।
रोपिएको स्याउ मध्यमा दुई हजार १६५ हेक्टर क्षेत्रफलमा स्याउ उत्पादन भएको छ। जसमा उच्च घनत्वको स्याउ ५२ हेक्टरमा लगाइएको र यस वर्ष ४० हेक्टरमा उच्च घनत्वको स्याउ फलेको कृषि कार्यालयले जनाएको छ।
जुम्लामा रेडडेलिसेस, रोयल डेलिसेस, गोल्डेन , रिचा रेड, जनाथन, स्पोरलगायत स्थानीय विभिन्न जातका स्याउ फल्छन्। उच्च घनत्वका गाला र फुजी स्याउको पनि उत्पादन हुने गरेको छ।